समुदायमा रोग पहिचान र सूचना व्यवस्थापन सुदृढ बनाउन स्वास्थ्यकर्मीलाई विशेष प्रशिक्षण

कुमोद अधिकारी
२७ जेठ,
विराटनगर । महामारीजन्य तथा संक्रामक रोगको प्रारम्भिक पहिचान, समयमै सूचना प्रवाह र समुदायस्तरमै नियन्त्रणका उपायलाई प्रभावकारी बनाउन विराटनगर महानगरपालिकाले स्वास्थ्यकर्मीका लागि दुईदिने समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ ।
महानगरपालिकाको स्वास्थ्य महाशाखाले आयोजनामा भएको कार्यक्रममा विभिन्न वडामा कार्यरत स्वास्थ्यकर्मीलाई समुदायस्तरमा देखिने रोगका लक्षण पहिचान, जोखिम मूल्यांकन, सूचना व्यवस्थापन तथा महामारी नियन्त्रणसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिनेछ ।
कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले कुनै पनि रोग वा महामारी नियन्त्रणको पहिलो आधार समयमै सूचना प्राप्ति हुने भएकाले स्वास्थ्यकर्मीले समुदायमा देखिएका असामान्य स्वास्थ्य अवस्थाबारे तत्काल सूचना संकलन र सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । उहाले अभिमुखीकरणबाट प्राप्त ज्ञान तथा सीपलाई व्यवहारमा उतार्दै परिणाममुखी कार्यसम्पादन गर्न सहभागीलाई निर्देशन दिनुभयो ।
‘समुदायमा रोगको संकेत देखिनासाथ सचेतना, निगरानी र समन्वयलाई सक्रिय बनाउनु आवश्यक छ,’ शर्माले भन्नुभयो,‘ढिलो सूचना प्रवाहले महामारी नियन्त्रणमा चुनौती थप्न सक्छ ।’
महानगरका प्रवक्तासमेत रहेका वडा नं. ५ का अध्यक्ष सन्तोष न्यौपानेले कोरोना महामारीका बेला समुदायस्तरमा सञ्चालन गरिएका जनचेतनामूलक गतिविधिका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिन सफल भएको अनुभव सुनाउदै भविष्यमा पनि कुनै महामारीको जोखिम देखा परे समुदाय, स्वास्थ्यकर्मी र स्थानीय सरकारबीचको सहकार्य नै सबैभन्दा प्रभावकारी उपाय हुने वताउनुभयो ।
स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीपकुमार यादवले महामारी नियन्त्रणमा स्वास्थ्यकर्मीको भूमिका निर्णायक हुने उल्लेख गर्दै समुदायमा देखिएका रोगका प्रारम्भिक लक्षण पहिचान गरी सम्बन्धित निकायसम्म तत्काल जानकारी पुग्न सके संक्रमण फैलिनुअघि नै नियन्त्रण गर्न सकिने बताउनुभयो ।
‘रोगको प्रारम्भिक संकेतलाई बेवास्ता नगरी समयमै रिपोर्टिङ गर्ने प्रणाली बलियो बनाउनु अहिलेको आवश्यकता हो,’ उहाले भन्नुभयो, ‘समयमै रोगको लक्षण थाहा भएमा महामारी समुदायमा फैलिनबाट रोक्न सकिन्छ ।’
जनस्वास्थ्य अधिकृत रमेश कार्कीका अनुसार अभिमुखीकरणमार्फत स्वास्थ्यकर्मीलाई ‘सोरमास’ सूचना प्रणाली सञ्चालनसम्बन्धी प्रशिक्षणसमेत प्रदान गरिएको छ। उक्त डिजिटल प्रणालीमार्फत स्थानीय तहबाट संकलित स्वास्थ्यसम्बन्धी सूचना प्रदेश तथा संघीय निकायसम्म छिटो र व्यवस्थित रूपमा पुग्नेछ।
एहाले समयमै सूचना आदानप्रदान हुन सके महामारी नियन्त्रणका लागि आवश्यक स्रोत परिचालन, जोखिम विश्लेषण तथा रणनीति निर्माणमा सहजता आउने बताए। ‘स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै समुदायमै रोगको पहिचान र नियन्त्रण गर्न सकिने क्षमता विकास गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो,’ कार्कीले भन्नुभयो।
स्वास्थ्य विज्ञहरूका अनुसार जलवायु परिवर्तन, बढ्दो शहरीकरण तथा जनघनत्वका कारण विभिन्न संक्रामक रोगको जोखिम बढिरहेका बेला समुदायमा आधारित रोग निगरानी प्रणाली प्रभावकारी सार्वजनिक स्वास्थ्य व्यवस्थापनको महत्वपूर्ण आधार बन्दै गएको छ। यस्तो प्रणालीले रोगको प्रारम्भिक संकेत पहिचान गरी सम्भावित महामारीलाई फैलिनुअघि नै नियन्त्रण गर्न सहयोग पु¥याउने विश्वास गरिएको छ।
विराटनगर महानगरपालिकाले आगामी दिनमा सबै वडामा समुदाय–आधारित स्वास्थ्य निगरानी प्रणालीलाई थप सुदृढ बनाउँदै डिजिटल रिपोर्टिङ, स्वास्थ्य सचेतना अभियान तथा आपत्कालीन स्वास्थ्य प्रतिकार्य संयन्त्रलाई समेत विस्तार गर्ने जनाएको छ।
कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक सागर प्रसाईं, पीएचआरडीका जनस्वास्थ्य प्रशासकलगातको उपस्थिति रहेको थियो
अभिमखीकण कार्यक्रममा महानगरका १९ वटै वडाका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको जनस्वास्थ्य निरीक्षक योगेश श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *