कुमोद अधिकारी
१६ भदौ,
विराटनगर । मोरङ उद्योग व्यापार संघ ७५औं वर्षमा प्रवेश गरेसंगै मोरङ उद्योग व्यापार संघले आज विराटनगरमा ६९औं वार्षिक साधारण सभा मनाएको छ ।
संघको वार्षिक साधारण सभामा पूर्वअध्यक्षहरु सुरेश शर्मा, देवेन्द्रराज गढिया, ताराचन्द खेतान, नन्दकिशोर राठी, खेमचन्द जैन, शंकरलाल अग्रवाल, महेश जाजु, पवनकुमार सारडा, अविनाश बोहरा र निवर्तमान अध्यक्ष नविन रिजाललाई सम्मान गरिएको छ ।
२००७ सालमा स्थापना भएको नेपालको सबैभन्दा पुरानो तथा ऐतिहासिक निजी क्षेत्रको संस्था मोरङ उद्योग व्यापार संघलाई यो उचाईमा ल्याइपु¥याउन गरेको योगदानको कदर गर्दै पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको संघका अध्यक्ष अनुपम राठीले बताउनुभयो ।
साधारण सभाका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले पूर्वअध्यक्षहरुलाई सम्मान–पत्र प्रदान गर्नु भएको थियो ।

मोरङ उद्योग व्यापार संघ ७५औं वर्षमा प्रवेश गर्दा संघको नाम परिवर्तन भएको छ । मोरङ व्यापार संघको ३३औं कार्यसमितिका अध्यक्ष नविन रिजालको कार्यकालमा मोरङ व्यापार संघको नाम परिवर्तन भएर मोरङ उद्योग व्यापार संघ भएको हो ।
मोरङ उद्योग व्यापार संघमा एउटै परिवारबाट ३ पुस्ताले अध्यक्ष पदको नेतृत्व सम्हालेको इतिहास कायम भएको छ । विराटनगरका प्रतिष्ठित औद्योगिक घरानाबाट आस्करण राठी, नन्दकिशोर राठी र अनुपम राठीले मोरङ उद्योग व्यापार संघको अध्यक्ष पदको नेतृत्व सम्हालेको इतिहास कायम भएको छ ।
मोरङ उद्योग व्यापार संघको अध्यक्षको नेतृत्व सम्हालेको पहिलो पुस्ता आस्करण राठीको निधन भइसकेको छ । दोस्रो पुस्ताबाट अध्यक्ष भएका नन्दकिशोर राठी र तेस्रो पुस्ताबाट अध्यक्ष भएका अनुपम राठी मंगलबार संघले ६९औं वार्षिक साधारण सभाको अवसरमा विमोचन गरेको शब्द र तस्बिर संग्रह ७५औं वर्षको दस्ताबेज पुस्तकको विमोचन समारोहमा सहभागी थिए ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की तथा संघका अध्यक्ष र पूर्वअध्यक्षहरुले सामुहिक रूपमा ७५औं वर्ष शब्द र तस्बिर संग्रह दस्ताबेज पुस्तकको विमोचन गर्नु भएको थियो ।
सो अवसरमा संघले निजी क्षेत्रको समस्यालाई उठान गरेर त्यसलाई समाधान गराउन खेलेको भूमिकालाई समेटेर तयार पारिएको वृत्तचित्र प्रस्तुति गरिएको थियो ।