विपद् जोखिम न्यूनीकरणका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यक मुख्यमन्त्री कार्की

जेठ ३० कुमोद अधिकारी
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपद् जोखिम न्युनिकरण एवं व्यवस्थापनका लागि तीनै तहको सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

सुनसरीको इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटरमा आज आयोजित विपद् जोखिम न्युनिकरण एवं व्यवस्थापन सम्बन्धि कोसी प्रदेश एकीकृत अभ्यास हातेमालो–५ को छलफल कार्यक्रममा उहाँले आउन सक्ने विपद्बाट बच्नका लागि स्थानीय स्तरमा सबै नागरिकलाई विपद् सम्बन्धि जनचेतना जगाउनुपर्नेमा जोड दिनुभयो ।

नागरिकहरू समयमा सचेत नहुँदा विपद्बाट वर्षेनी धनजनको ठुलो क्षति हुने गरेकाले विपद्का सम्बन्धमा उनीहरुलाई मानसिक रुपमा तयारी अवस्थामा राख्नुपर्ने उहाँको भनाई थियो ।

मानव लापरवाहीका कारण कतिपय स्थानमा विपद्का घटना हुने गरेकाले सडक पुल निमार्ण गर्दा तथा खोलानालाबाट गिटी बालुवा उत्खनन गर्दा जथाभाबी ठुला ठुला उपकरणको प्रयोगमा सावधानी अपनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनका लागि नेपाली सेनाको सहयोग महत्त्वपूर्ण रहेको भन्नुहुँदै वर्षा शुरु भइसकेकाले जुनसुकै बेला आउनसक्ने भएकाले विपद् न्यनिकरण एवं व्यवस्थापनका लागि कोशी प्रदेश सरकार तयारी अवस्थामा रहेको बताउनुभयो ।

कोशी प्रदेश सरकारले विपद्को क्षेत्रको नक्साकंन एवं पहिचान गर्दै त्यही अनुसार प्रदेश सरकारले कार्य योजना बनाएर अघि बढिरहेको उहाँले बताउनुभयो ।

उहाँले प्राकृतिक विपत्ति भन्दा सडक दुर्घटनाका कारण वर्षेनी अकालमै ज्यान गुमाउनेका सख्या उल्लेखनीय रुपमा बढिरहेकाले त्यसतर्फ पनि ध्यान जानु आवश्यक रहेको बताउनुभयो ।

पूर्वी पृतनापति डा।आशबहादुर तामाङले आउन सक्ने विपद् जोखिम न्युनिकरण लागि स्थानीय जनता तथा रेडक्रससँग हातेमालो र विभिन्न अभ्यास गर्दै नेपाली सेना तयारी अवस्थामा रहेको बताउनुभयो ।

विपद् सम्बन्धी समयमै पूर्व तयारी र सावधानी अपनाउने हो भने जुनसुकै विपत्तिमा पनि त्यसको सहज रूपले सामना गर्न सकिने उहाँको भनाई थियो ।

उहाँले विगतमा भएका विपद्का घटनाहरूबाट पाठ सिकेर कागजी रुपमा नभई व्यवहारिक रुपमा आफूलाई तयारी अवस्थामा राख्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली सेना विपद् व्यवस्थापन विभाग काठमाडौँका सहायक रथी रविन्द्र खत्रीले विपद् जोखिम न्युनिकरण र व्यवस्थापन एकिकृत अभ्यास हातेमालो–५ को उद्देश्यबारे जानकारी दिनुहुँदै विपद् जोखिम न्युनिकरणका लागि एकीकृत प्रयास आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा मोरङ तथा सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी नेपाल तथा सशर्त प्रहरी कोशी प्रदेशका प्रमुख, जिल्लाका सुरक्षा निकायका प्रमुख स्वास्थ्यकर्मी तथा रेडक्रसका प्रतिनिधिलगायत सरोकारवालाहरूको सहभागिता थियो ।

सो अवसरमा नेपाली सेना सल्लेरी ब्यारेक धनकुटाका प्रमुख सुमन थापाले विपद् न्यनिकरण एंंव व्यवस्थापन सम्बन्धनमा नेपाली सेनाले विभिन्न स्थानमा गरेको अभ्यासको बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रम आन्तरिक मामिलातथा कानुन मन्त्रालय कोशी प्रदेशको आयोजना र पूर्वी पृतना हेडक्वाटर इटहरीको सहयोगमा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *