३० जेष्ठ, २०८०
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा नयाँ नेतृत्व आवश्यक रहेको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरागर्दै उहाँले पार्टी भित्र धेरै चुनौती र समस्या रहेकाले त्यसलाई पार लगाउन नयाँ नेतृत्व आवश्यक रहेको बताउनुभयो ।
पार्टी नेतृत्व परिवर्तन नभए अहिलेको चुनौतीले पार्टीलाई थिच्ने उहाँको भनाई थियो । चुनौती र समस्याको समाधान गर्न पनि नेतृत्व हस्तान्तरण आवश्यक रहेको उहाँले बताउनुभयो । आवश्यकता अनुसार पार्टीलाई नयाँ नेतृत्व प्रदान गर्न आफूले पहल गरिरहेको बताउँदै उहाँले त्यसमा कुनै प्रकारको घाटा र नाफाको हिसाब आफूले नगरेको प्रष्ट पार्नुभयो ।
पाँच वर्षे यो संसदीय कार्यकालमा एक पटक नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने भएकाले त्यो सरकारको नेतृत्व अव नयाँ व्यक्तिले गर्नुपर्ने उहाँको भनाई थियो । नेपाली जनता र पार्टी शुभेच्छुकको चाहना पनि काँग्रेसको नेतृत्व अव नयाँ व्यक्तिले पर्नुपर्छ भन्ने रहेको उहाँले बताउनुभयो ।

उहाँले पार्टीलाई सुद्धिढ बनाउने अभियानमा आफु निरन्तर लागि रहेको भन्नुहुँदै पार्टी नेतृत्वसँग आफ्नो कुनै आग्रह पूर्वाग्रह नरहेको बताउनुभयो । उहाँले पार्टी सभापतिसँग आफ्नो कुर्न आग्रह पूर्वाग्रह छैन भन्नुहुँदै उहाँले पार्टीका लागि गरेको योगदानको आफूले सधैँ कदर गर्ने बताउनुभयो ।
महामन्त्री थापाले डा शेखर कोइरालासँग पार्टीको १४ औ महाधिवेशनमा जस्तो सम्बन्ध थियो अहिले त्यो सम्बन्ध झन प्रगाढ बनेको बताउनुभयो ।