भारी वर्षाको जोखिम रहेको भन्दै विराटनगरका विद्यालय २ दिन बन्द

८ असोज,विराटनगर । देशभर भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै विराटनगर महानगरपालिकाले नगरभित्र सञ्चालित सम्पूर्ण विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको छ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले सूचना जारी गर्दै असोज ८ र ९ गते दुई दिन महानगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा पठनपाठन बन्द गर्न निर्देशन दिएको हो।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज ८ गतेदेखि ११ गतेसम्म देशभर भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ ।

यो अवधिमा नदीनालामा पानीको बहाव बढ्न सक्ने, बस्ती तथा सडकमा डुबान हुन सक्ने र बाटोघाटो अवरुद्ध हुने जोखिम रहेकाले विद्यार्थी तथा सर्वसाधारणको सुरक्षाका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको महाशाखाले जनाएको छ ।

विपद्को अवस्था आएमा सुरक्षित विद्यालय भवनहरूलाई आवश्यकता अनुसार अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न सक्ने गरी तयारी अवस्थामा राख्न विद्यालय प्रशासनलाई महानगरले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *