कोशी प्रदेश नामाकरण कसैको विपक्षमा छैन –मुख्यमन्त्री कार्की

कुमोद अधिकारी
विराटनगर,८ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश’ नामाकरण कसैको विपक्षमा नभएको बताउनु भएको छ ।
नेपाल बार एशोसिएशन उच्च अदालत विराटनगर बार इकाईको १३ औं कार्य समितिको वार्षिक साधारण सभा तथा बार भवनको आज उद्घाटन गर्दै उहाँले प्रदेसको नामाकरण एउटा पक्षमा भएको भए अर्को पक्षलाई बिझाउँथ्यो होला त्यो नभएर साझा भएकाले यसलाई सबैले आत्मसाथ गर्दै जानुपर्छ भन्नुभयो ।
उहाले समय क्रममा भविष्यमा जनताको दुई तिहाई मत प्राप्त भएमा संवैधानिक एवं कानूनी प्रक्रियाबाट प्रदेशको नाम परिवर्तन गरेर जान सकिने भइकाले यस विषयमा धेरै विवाद नर्गन आग्रह गर्नुभयो ।
प्रदेश सभाको अघिल्लो कार्यकालमा प्रदेशको नामकरण नगर्दा सर्वत्र आलोचना खेप्नु परेको दृष्टान्त प्रस्तुत गर्दै यस पटको प्रदेश सभाको प्रारम्भमै प्रदेश सभाको १३ औ बैठकले नामकरण गरेको उहाले प्रस्ट पार्नुभयो ।
मुख्यमन्त्री कार्कीले प्रदेशको नामकरणमा प्रदेश सभाकै भूमिका बढी हुने र सरकारको कुनै भूमिका नहुने पनि बताउनुभयो ।
उहाँले वर्तमाान नेपालको राजनीति र न्याय क्षेत्रको अवस्था राम्रो नदेखिएको चर्चा गर्दै विगत १६÷१७ महिना देखि प्रधान न्यायधिस नियुक्ति हुन नसक्नु दुखद कुरा हो भन्नुभयो । यस्तै अवस्था राजनीतिक क्षेत्रमा पनि रहेको तर यस विषयमा नेताहरुको ध्यान जान नसकेको उहाँको भनाइ थियो ।
प्रदेश संरचना अनावश्यक, अत्याधिक खर्चालु लगायतका आलोचना तथ्य र सत्यका आधारमा हुनुपर्नेमा जोड दिदै मुख्यमन्त्री कार्कीले विगत १५ बर्षमा नभएका विकास प्रदेश सरकार निर्माण भएपछि जनताले अनुभूति गरेको दावी गर्नु भयो ।
उहाँले विगत पाँच बर्षको अवधिमा प्रदेश सरकारले ८०० किलोमिटर कालोपत्र सडक,१०० पक्की पुल, २०० झोलुङ्गे पुल र २०० भौतिक संचरना निर्माण गरेको जानकारी दिनु भयो ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले गरेका गल्तिको आलोचनालाई ग्रहण गर्दै आगामी दिनमा सुधार गर्ने प्रण गर्दै प्रदेस सरकारले गरेको राम्रो कार्यको प्रशंसा गर्न समेत आग्रह गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *