कुमोद अधिकारी
८चैत
विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयले कानुनतर्फ एलएमका पुराना विद्यार्थीहरुलाई पुरस्कृत गर्दे नयाँ विद्यार्थीहरुलाई अभिमुखिकरण सहित स्वागत गरेको छ ।
विश्वविद्यालयको ‘मनमोहन ईन्स्टिच्युट अफ ल’ ले शनिवार अपराध शास्त्रमा एलएलएमका पहिलो समुहका उत्कृष्ट विद्यार्थीहरुलाई नगद सहित पुरस्कृत गर्दै नयाँ विद्यार्थीलाई अभिमुखिकरण सहित स्वागत गरेको हो ।
विराटनगरमा सम्पन्न अभिमुखिकरण तथा स्वागत कार्यक्रममा बोल्दै विश्वविद्यालयको ‘स्कुल अफ एप्लाईड साईन्सटेक्नोलोजी अफ ल’ का डिन डा रेखा श्रेष्ठले पाठयक्रम अनुसार गुणस्तरिय पढाई र समयमै परिक्षा र परिक्षफल प्रकाशनका लागि विश्वविद्यालयले कुनै सम्झौता नगर्ने बताउदै कानुनमा विशेषज्ञता हासिल गर्ने विद्यार्थीहरुलाई उत्तीर्ण हुनका लागि मात्र नभएर अनुसन्धानमा पनि जोड दिन आग्रह गर्नुभयो ।
मनमोहन ईन्स्टिच्युट अफ लका प्रचार्य कोषराज न्यौपानेले गुणस्तरिय पढाईमा जोड दिएकै कारण पहिलो र दोस्रो चरणमै कानुन पढने विद्यार्थीहरुको आर्कषण उच्च भएको बताउदै मनमोहनले कानुनमा दक्ष जनशक्त्ति उत्पादन गर्न अन्तराष्ट्रिय विश्वविद्यालयहरुसँग पनि सहकार्य गरिरहेको जानकारी गराउनुभयो । प्रचार्य न्यौपानेका अनुसार मनमोहन कानुन विश्विद्यालयले केही बर्षभित्रै कानुनमा पिएचडी तहको पठनपाठन सञ्चालन गराउने सोच बनाइरहेको छ ।
कलेजका शिक्षक तथा अपराध शास्त्री केशवराज पन्तले मनमोहनमा कानुनमा एलएलम अध्यन गर्ने पहिलो समुहका विद्यार्थीहरुको पढाईको गुणस्तर आफुले सोचेभन्दा राम्रो पाएको बताउनुभयो ।
विश्विद्यालयका परिक्षा विज्ञ ईन्जिनियर युवराज चौधरीले परिक्षालाई मर्यादित बनाएर समयमै परिक्षाफल प्रकाशन गर्ने लक्ष्यमा विश्वबिद्यालय सधै प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
पहिलो समेष्टरका उत्कृष्ट विद्यार्थीहरु रामसुफल सदा र राजेश तिम्सिनाले मनमोहन विश्वविद्यालयको पढाईसँगै परिक्षा प्रणालीको खुलेर प्रशंसा गर्नुभयो ।
कार्यक्रममा अपराध कानुनमा एलएलएममा भर्ना भएका तीस जना विद्यार्थीहरुलाई स्वागत गर्दै विश्वविद्यालयको शैक्षिक कार्यक्रम , परिक्षा र व्यवस्थापन प्रणालीबारे अभिमुखिकरण गराइएको थियो ।
साथै एलएलएम पहिलो समुहका प्रथम सेमेष्टरमा प्रथम हुने विद्यार्थीहरु रामसुफल सदा दोस्रो हुने लवराज घिमिरे र तेस्रो हुने राजेश तिम्सिनालाई विश्वविद्यालयको तर्फबाट जनही ४८ हजार र जेहेन्दार विद्यार्थी संजयकुमार यादवलाई कलेजका प्रचार्यको तर्फबाट नगद ११ हजार गिफट ब्याक स्कलरशिपले पुरस्तकृत गरिएको थियो।
कोशी प्रदेश सरकारले स्थापना गरेको मनोहन प्राविधिक विश्वविद्यालयको ‘स्कुल अफ एप्लाईड साईन्स ,टेक्नोलोजी अफ ल’ अन्तर्गतको मनमोहन ईन्स्टिच्युट अफ लले व्यवस्थापन कानुनमा स्नातक र अपराध कानुनमा स्नातोकोत्तर तहको पढाई सञ्चाल गर्दै आएको छ ।