घर निर्माण प्रदर्शनीमा थिमेटिक सेसनः निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल हुने

कुमोद अधिकारी
चैत्र ९,
विराटनगर । उद्योग संगठन मोरङले आयोजना गर्न लागेको घर निर्माण प्रदर्शनी २०२६ मा थिमेटिक सेसन अन्तर्गत निर्माण क्षेत्रको विभिन्न आयामबारे छलफल तथा अन्तरक्रिया हुने भएको छ।
चैत १२ गते देखि १६ गते सम्म विराटनगरमा हुने प्रदर्शनीमा निर्माण क्षेत्रका अनुभवी तथा विज्ञहरूको उपस्थितिमा छलफल तथा अन्तरक्रिया हुने भएको हो।
विराटनगर स्थत जैन भवनमा ५ दिन सम्म चल्ने प्रदर्शनीमा ४ दिन ४ फरक थिमका ११ वटा सेसनमा छलफल तथा अन्तरक्रिया हुने भएको हो।
प्रदर्शनीमा थिमेटिक सेसन अन्तर्गत चैत १३ गते शुक्रबार सुरक्षित र सही निर्माणः मापदण्ड, गुणस्तरीय सामग्री तथा जोखिम न्यूनीकरण थिममा घर निर्माण, निर्माण सामग्रीको गुणस्तर जाँच, विद्युतीय सुरक्षा, अग्नि सुरक्षा प्रणाली तथा घर सुरक्षा अभ्यास लगायत विषयमा ४ वटा सेसनमा अन्तरक्रिया र छलफल हुने भएको छ।

चैत १४ गते शनिबार स्मार्ट डिजाईनः वास्तु, इन्टेरियर र प्राविधिक योजना थिममा आधुनिक घरका लागि वास्तु, वास्तु सम्बन्धी आधारभूत सिद्धान्त र प्रयोग र इन्टेरियर डिजाईनका अवधारणा विषयक २ सेसन हुने आयोजक उद्योग संगठनले जनाएको छ।

त्यस्तै, चैत १५ गते आइतबार स्मार्ट घर र आधुनिक जीवनशैली थिममा घर अटोमेशन तथा आधुनिक जीवनशैली र सोलार घर सम्बन्धी २ सेसनमा अन्तरक्रिया र छलफल हुने र चैत १६ गते सोमबार मर्मत सम्भार तथा ट्रिटमेन्टः संरक्षण, मर्मत र भवन आयु वृद्धि थिम अन्तर्गत छत चुहिने समस्या, धमिरा नियन्त्रण र पुराना भवन सुदृढीकरण र रेट्रोफिटिङ लगायतको विषयमा ३ सेसनमा छलफल र अन्तरक्रिया हुने भएको छ।
संगठनका अध्यक्ष नन्दकिशोर राठीले कोशी प्रदेशमै पहिलो पटक आयोजना गर्न लागिएको घर निर्माण प्रदर्शनीमा सहभागीहरूलाई निर्माण क्षेत्रको विभिन्न आयामबारे जानकारी र विषय विज्ञसँग अन्तरक्रिया गर्ने अवसर निर्माण गर्नका लागि प्रदर्शनीमा थिमेटिक सेसनलाई समावेश गरिएको बताउनु भयो। उहाँले प्रदर्शनीमा सेसनमा बाहेक पनि निर्माण क्षेत्रका प्राविधिकहरूसँग निःशुल्क परामर्श गर्न पाइने समेत जानकारी दिनु भयो ।

बिराटनगरको जैन भवनमा, विहान १० देखि सांझ ६ बजेसम्म ५ दिन सञ्चालन हुने प्रदर्शनीमा निर्माण क्षेत्रसँग सम्बन्धित झन्डै ७० भन्दा बढी कम्पनीहरूले आफ्नो सेवा तथा उत्पादन प्रदर्शनी गर्ने छन। काठमाडौँ बाहिर प्रथम पटक हुन लागेको प्रदर्शनीमा बृहत् सहभागिताको निम्ति आयोजकले निःशुल्क प्रवेशको व्यवस्था गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *