कुमोद अधिकारी
६ चैत
विराटनगर ।‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा सुनसरी र मोरङका विभिन्न कलेजमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको छ । नेपाल धितोपत्र बोर्डको आयोजना तथा नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्यूरिटीज ट्रेडिङ प्रालि विराटनगर कार्यालयको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका निर्दैशक अनुजकुमार रिमालले विद्यार्थीहरूलाई वित्तीय साक्षरता, बचत, लगानी र आर्थिक अनुशासनसम्बन्धी जानकारी दिनु भएको थियो ।
विद्यार्थीहरूलाई पैसाको सही व्यवस्थापन, अनावश्यक खर्च नियन्त्रण, बैंकिङ प्रणालीको उपयोग र लगानीका आधारभूत सिद्धान्तबारे जानकारी गराइएको थियो ।
कार्यक्रममा ग्लोबल मनि वीक २०२६ र स्मार्ट मनी टक्सको सन्देश, उद्देश्य र विश्वव्यापी अभियानबारे पनि जानकारी गराइएको थियो । सानै उमेरदेखि वित्तीय ज्ञान हासिल गर्नु दीर्घकालीन आर्थिक स्थायित्वका लागि अत्यन्त महत्वपूर्ण हुने धितोपत्र बोर्डका सहायक बसन्त तामाङले बताउनुभयो ।
ग्लोवल मनी वीकका अवसरमा विराटनगर स्थित सिटी कलेजमा चैत ४ गते आयोजना गरिएको कार्यक्रममा ७१ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । यस्तै चैत ५ गते इटहरी स्थित सुस्मा गोदावरी कलेजमा आयोजित कार्यक्रममा १ सय ७१ जना विद्यार्थीको सहभागिता रहेको नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज ट्रेडिङ प्रालि विराटनगरका प्रमुख विवेक पौडेलले जानकारी दिनुभयो ।
‘ग्लोबल मनी वीक’ विश्वव्यापी रूपमा मनाइने अभियान हो, जसको मुख्य उद्देश्य बालबालिका तथा युवाहरूलाई वित्तीय रूपमा सचेत र सक्षम बनाउनु हो । नेपालमा पनि हरेक वर्ष विभिन्न कार्यक्रमहरू आयोजना गर्दै यस अभियानलाई प्रभावकारी बनाउने प्रयास हुँदै आएको पौडेलले बताउनुभयो ।