चालु आर्थिक वर्षमा कोशी प्रदेशमा धान उत्पादन घट्यो

कुमोद अधिकारी
२८ मंसिर ,
विराटनगर । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्ष २०८२–०८३ मा कोशी प्रदेशमा धान उत्पादन घटेको छ ।
कोशी प्रदेश कृषि निर्देशनालयका अनुसार गएको आ.व. २०८१–०८२ को तुलनामा चालू आबमा करिब ५२ हजार मेट्रिक टन धान उत्पादन घटेको हो । गत आर्थिक वर्षमा प्रदेशभर ११ लाख ८२ हजार २२१ मेट्रिक टन धान उत्पादन भएकोमा चालू आर्थिक वर्षमा घटेर ११ लाख २९ हजार ९४९ मेट्रिक टन धान उत्तपादन भएको सो कार्यालयले जनाएको छ ।
रोपाइँका बेला खडेरी पर्नु र काट्ने बेलामा अत्याधिक वर्षा हुनुले उत्पादन घटनुको मुख्य कारण भएको कृषि निर्देशनालय कोशी प्रदेशका प्रमुख प्रकाश कुमार डाँगीको भनाई छ । यसका साथै किराको प्रकोप र केही क्षेत्रमा धानबालीको सट्ट अन्य वैकल्पिक बाली तर्फ किसानको रोजाइले पनि उत्पादकत्वमा असर पारेको उहाँले वताउनुभयो । उत्पादनसँगै धान खेती गरिने क्षेत्रफल थोरै घटेको निर्देशनालयले जनाएको छ ।

गएको आर्थिक वर्षमा दुई लाख ७५ हजार २६८ हेक्टर क्षेत्रमा धान खेती भएकोमा चालू आबमा दुई लाख ६९ हजार ६८४ हेक्टरमा मात्र खेती भएको थियो । कृषि कार्यालयहरूका अनुसार धान उत्पादनको राजधानी मानिने मोरङ, झापा र सुनसरी जिल्लामै धान उत्पादन घटेको छ, जसका कारण कोशीको कुल उत्पादनमै असर परेको हो । झापामा यो वर्ष करिब २८ हजार टन उत्पादन घटेको छ ।
गत आबमा तीन लाख ८२ हजार ८ १२ मेट्रिक टन उत्पादन भएकोमा चालू आबमा तीन लाख ५४ हजार ३५१ मेट्रिक टन मात्रै उत्पादन भयो ।
मोरङमा गत आबमा तीन लाख ३९ हजार टन धान फलेकोमा चालू आबमा तीन लाख ३६ हजार ९२० टन मात्रै उत्पादन भएको छ । सुनसरीमा पनि गत आबमा दुइ लाख १७ हजार टन उत्पादन हुँदा चालू आबमा दुइ लाख ११ हजार ६०८ टन मात्रै फलेको छ ।
आगामी वर्ष बीउ सुधार, सिँचाइ बिस्तार र आपतकालीन कृषि सहायताका कार्यक्रमहरू प्रभावकारी रूपमा लागू गर्न सके मात्र प्रदेशको धान उत्पादन स्थिर हुने कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ प्रकाश मरासिनी बताउनु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *