कुमोद अधिकारी
२८ मङसिर,
विराटनगर । नेपाली कांग्रेसका पुराना नेता तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्याय (ढुङ्गेल) को निधन भएको छ । मुखको क्यान्सरबाट पीडित उहाँको ह्याम्स अस्पताल काठमाडौंमा गएराती निधन भएको हो ।
पूर्व शिक्षा तथा खेलकुद मन्त्री समेत रहनु भएका उपाध्याय तत्कालिन मोरङ क्षेत्र नम्बर–१ (हाल २) बाट दुई पटक २०५६ उपनिर्वाचन र २०६४ को पहिलो संविधानसभामा निर्वाचित हुनुभएको थियो ।
कांग्रेस केन्द्रीय सदस्य समेत रहि सक्नु भएका नेता उपाध्याय साधारण जीवनशैलीका कारण सक्रिय राजनीतिमा हुँदा उहाँ कार्यकर्तामाझ लोकप्रिय हुनुहुन्थ्यो ।
विराटनगर–७ मा घर भई मोरङको आमगाछीका बासिन्दा समेत रहनु भएका उपाध्याय गिरीजाप्रसाद कोइरालाका विश्वासपात्र पनि रहनु भएको थियो ।
भारतबाट राजनीतिशास्त्रका स्नातक उपाध्याय दुई छोरा र एक छोरी छन् । उपाध्यायकी श्रीमतीको यसअघि नै निधन भएको थियो । सादा जिवन शैलीको रुपमा चिनिने नेता उपाध्यायको निधनले नेपाली कांग्रेसपार्टीलाई मात्र होइन सिंगो मुलुकलाई अपुणनिय क्षति पुगेको नेपाली कांग्रेस मोरङका सभापति डिगवहादुर लिम्वुको भनाई छ ।