प्रदेश बीमा नीति चाडै कार्यान्वयनमा ल्याउँछौं , मुख्यमन्त्री कार्की

कुमोद अधिकारी
२२ साउन,
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश बीमा नीति कार्यान्वयनमा ल्याउने बताउनु भएको छ ।
नेपाल बीमा प्राधिकरणको आयोजनामा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कोशी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तक्र्रिया एवम् छलफल कार्यक्रममा मुख्यमन्त्री कार्कीले विभिन्न किसिमका जोखिमको आँकलन सहित बीमा सम्बन्धी विषयहरू समेटेर छिट्टै बीमा नीति कार्यान्वयनमा ल्याउने बताउनु भयो । उहाँले आर्थिक मामिला तथा योजना मन्त्रालय अन्तर्गत बीमा इकाई स्थापना गर्ने जानकारी दिनुभयो ।
मुख्यमन्त्री कार्कीले गरीबी न्यूनीकरणका कार्यक्रमलाई बीमासँग आवद्ध गरेर अघि बढाउन र बीमा सचेतना अभिवृद्धिका लागि प्राधिकरणसँग समन्वय गरेर अघि बढ्न प्रदेश सरकार तयार रहेको बताउनुभयो ।
उहाँले बीमितले बीमा कम्पनीहरूबाट समयमैं दाबी भुक्तानी पाउने सुनिश्चित गर्नका लागि आवश्यक सहजीकरण गर्न प्राधिकरणसँग आग्रह गर्नुभयो ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा सचेतना अभिवृद्धि र दायरा विस्तारका लागि प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्न प्राधिकरण तयार रहेको बताउनुभयो ।
बीमा दाबी भुक्तानीलाई प्राधिकरणले प्राथमिकता दिँदै आएको उल्लेख गर्दै अध्यक्ष सिलवालले कोरोना बीमाको बाँकी दाबी भुक्तानीका सम्बन्धमा पहल भइरहेको र त्यसमा सरकार सकारात्मक रहेको जानकारी दिनुभयो ।
अध्यक्ष सिलवालले विद्यालयका पाठ्यक्रममा बीमा विषय समावेश गर्नका लागि पहल गर्न आग्रह गर्दै कृषि तथा पशुपन्छी बीमामा देखिएका समस्या समाधानका लागि नीतिगत व्यवस्था गरिएको स्पष्ट गर्नुभयो । नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा सम्बन्धी समग्र विषयका साथै बीमा क्षेत्रको विकास एवम् विस्तारमा प्रदेश सरकारको भूमिका सम्बन्धी प्रस्तुती गर्नुभएको थियो
कार्यक्रममा कोशी प्रदेशका मन्त्री तथा राज्यमन्त्री, प्रदेश मन्त्रालयका सचिव, सहसचिव लगायत कर्मचारी, विभिन्न निकायका प्रतिनिधि, बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा प्रदेश कार्यालयका प्रमृखहरू लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख विनोदकुमार पोखरेलले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *