एडीवीका योजना छिटो अगाडि बढाइदिन मेयर कोइरालाको आग्रह

कुमोद अधिकारी
१२ मङसिर,
विराटनगर ÷संघीय राजधानी काठमाडौंमा रहनुभएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई भेटेर एडीवीलगायतका योजना छिटो अगाडि बढाइदिन आग्रह गर्नुभएको छ ।
उपमेयर शिल्पा निराला कार्की, वडा नम्बर २ का अध्यक्षसमेत रहनुभएका भौतिक पूर्वाधार समितिका संयोजक कुमार पोखरेल, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, भौतिक पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर अर्जुन थापालगायतलाई साथैमा लिएर सहरी विकास मन्त्रालय पुग्नुभएका मेयर कोइरालाले मन्त्री सिंहलाई यस्तो आग्रह गर्नुभएको हो ।
ड्रेन, सडक, प्रादेशिक बसपार्क, फोहोरमैला व्यवस्थापनलगायतका योजना छिटो अगाडि बढाइदिन आग्रह गर्नुभयो ।
सो अवसरमा उपप्रधान तथा सहरी विकासमन्त्री सिंहले विराटनगरको विकासका लागि आफू गम्भीर रहेको बताउनुभएको थियो ।
राजनैतिक र आर्थिक क्रान्तिमा विराटनगरको योगदानलाई बिर्सनै नसकिने बताउँदै सिंहले मन्त्रालयका तर्फबाट सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभयो ।
उहाँले दातृ निकासहरुसित पनि मन्त्रालयका तर्फबाट सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो । सो अवसरमा सहरी विकास विभागका योजना निर्देशक रोशन श्रेष्ठ, परामर्शदाता एसईएमईसीका प्रतिनिधिलगायतको समेत सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *