एक अर्ब ५७ करोडको शंकास्पद कारोबारकाे आराेपमा विराटनगरबाट दुई जना पक्राउ

विराटनगर । बैंक खातामार्फत भएको एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको शंकास्पद कारोबारको अनुसन्धानका क्रममा सुनसरी प्रहरीले विराटनगरबाट दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१५ रानीका ५६ वर्षीय शम्भुप्रसाद साह र विराटनगर–१७ का ३५ वर्षीय सुरजप्रसाद साह रहेकाे प्रहरीले जनाएकाे छ । हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा सुनसरी जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीकाे भनाइ छ।

प्रहरीका अनुसार केही व्यक्तिले हुण्डी कारोबार गर्दै आएको विशेष सूचना पाएपछि शंकास्पद व्यक्तिहरूको बैंकिङ कारोबारमाथि निगरानी थालिएको थियो। बैंक खाताको विश्लेषण गर्ने क्रममा व्यक्तिगत तथा विभिन्न फर्मका नाममा खोलिएका खाताबाट अन्य व्यक्तिहरूसँगको मिलेमतोमा ठूलो परिमाणमा रकम कारोबार भएको भेटिएपछि साहद्वयमाथि अनुसन्धान अघि बढाइएको हो।

प्रहरीको हालसम्मको अनुसन्धानबाट उनीहरूको बैंक खातामार्फत एक अर्ब ५७ करोड ६४ लाख ३९ हजार ३ सय ४० रुपैयाँ ८१ पैसा बराबरको रकम हुण्डीमार्फत कारोबार भएको देखिएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताए। उनका अनुसार बैंक खातामा देखिएको कारोबारको प्रकृति, रकमको प्रवाह र सम्बन्धित व्यक्तिहरूसँगको सम्पर्कलाई आधार बनाएर अनुसन्धान भइरहेको छ। कारोबारमा प्रयोग भएका बैंक खाता, रकमको स्रोत र गन्तव्य तथा अन्य संलग्न व्यक्तिका विषयमा समेत प्रहरीले अनुसन्धान गरिरहेको छ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ। उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत हुण्डीसम्बन्धी कारोबार गर्न नहुने कसुर, संगठित अपराध निवारण ऐन, २०७० र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गत अनुसन्धान अघि बढाइएको डीएसपी खड्काले बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *