बाढी र पहिरोले पाँचथरमा पु¥याएको क्षतिको पुर्न निमार्णका लागि माओवादीले गरायो कोशी प्रदेश सरकारको ध्यानाकर्षण

कुमोद अधिकारी

विराटनगर, ९ कार्तिक

माओवादी केन्द्र कोशी प्रदेशले गत असोज ९ देखि १२ गतेसम्म परेको अबिरल वर्षाको कारण पाँचथरमा सयौं घर क्षतिग्रस्त बनेको, करोडौंको भौतिक संरचना नष्ट भएको, खानेपानी, सिंचाई तथा विद्युत आयोजनाहरु भत्किएको भन्दै पुनः निर्माणको पहल गर्न कोशी प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।
माओवादी केन्द्र कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेल (सितलकुमार), सहइन्चार्ज सावित्रीकुमार काफ्ले, अध्यक्ष हर्कबहादुर नेम्वाङ, राष्ट्रियसभाका प्रमुख सचेतक गोपिबहादुर अछामी र कार्यालय सचिव टंक गिरीसहितको टोलीले आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको ध्यानाकर्षण गराउनु भएको हो ।गृह मन्त्रालयले घोषणा गरेको देशको संकटग्रस्त स्थानीय तहहरुमध्ये पाँचथरको फिदिम नगरपालिका, फालेलुङ गाउँपालिका र फाल्गुनन्द गाउँपालिका पनि परेको छ । पाँचथरमा उक्त विपदमा परी नौ जना नागरिकहरुको ज्यान गएको छ भने चार जना नागरिक वेपत्ता छन् । ‘बाढीले सयौंको संख्यामा घरवारबिहीन र अरबौको खेतिबाली तथा धनसम्पती नष्ट भएको छ । कतिपय शिक्षा, स्वास्थ्य र संघसंस्थाहरुको भौतिक संरचना जोखिम अवस्थामा छन् । आधा दर्जन पक्कीपुल तथा वेलिव्रिजलगायत सडक बाढीले बगाएको छ, ।

सो अवसरमा माओवादी केन्द्रका कोशी इन्चार्ज गजुरेलले , बाढी पहिरोले पीडित, जनधन गुमाएका, वेपत्ता तथा घरवार बिहीन पीडित पाँचथरवासी जनसमुदायहरुको यथाशिघ्र खोज, उद्धार, राहत तथा क्षतिपूर्ति सहित पुनः स्थापना गर्न तथा बाढी पहिरोबाट क्षतिग्रस्त भौतिक पूर्वाधार यथाशिघ्र पुनः निर्माण गर्न माग गर्नुभयो ।
माओवादी टोलीले मृतक परिवारहरुलाई क्षतिपूर्ति दिनुपर्ने, वेपत्ता व्यक्तिहरुको तत्काल खोज तथा राहत दिनुपर्ने, घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने उहाले माग गर्नुभयो ।
जिल्लामा एक सय २० घर परिवार पूर्ण रुपमा घरवार विहिन भएका छन् भने सयौं घर परिवार उच्च जोखिमा छन् । उनीहरुको पुनर्वास र सुरक्षित आवासको लागि भूगर्भविदहरुको भौगोलिक अध्ययन गराएर बस्ती स्थानान्तरण र पुनः स्थापना गरी एकीकृत वस्ती विकास कार्यक्रम लागू गर्न पनि मुख्यमन्त्री कार्कीलाई माओवादी टोलीले आग्रह गरेको छ ।
माओवादीले मुख्यमन्त्री कार्कीका साथै भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई, आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरलगायतसँग संयुक्त छलफल गरेको छ । छलफल सकारात्मक भएको र पुनःनिर्माणमा ध्यान दिने प्रतिबद्धता जाहेर भएको माओवादी नेता गोपी अछामीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *