कुमोद अधिकारी विराटनगर
१९ साउन,
प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले २ हजार ५ सय २५ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गर्ने भएको छ । परिषद्ले देशभरीका १६ जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्न लागेको हो ।
कोशी प्रदेशका इलाम र झापासहित धनुषा, चितवन, काठमाडौं, रसुवा, रामेछाप, पवर्त, मुस्ताङ, पाल्पा, गुल्मी, प्युठान, रुकुम, सुर्खेत, बैतडी र कञ्चनपुरका सामुदायीक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिने परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनीले जानकारी दिनुभयो ।
कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूको आवश्यकतालाई महशुस गरी झोला, कपी, कलम, जमेक्ट्री बक्स, प्राज्ञिक अंग्रेजी बोलचाल पुस्तक, नेपाली वृहत शब्दकोश लगायतका सामग्री वितरण गरिने उहाले वताउनुभयो । बिगत ३ वर्षदेखि परिषद्ले शैक्षिक सामग्री वितरण गरिरहेको उहाको भनाई छ ।
विद्यार्थी, शिक्षक र शिक्षाविद् माझ कार्य गर्दै आएको परिषद्ले देशका सातवटै प्रदेशमा शिक्षाक्षेत्रको समग्र सुधारका लागि शिक्षा कार्यशाला पनि सम्पन्न गरेको छ ।
विद्यार्थी परिषद्का केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्यौपानका अनुसार परिषद्ले विद्यार्थीहरूको वैचारिक एवम् सामाजिक विकास गर्ने क्रममा देशभरका क्याम्पसहरूमा जीवननोपयोगी सीपमा आधारित व्यक्तित्व विकास तालिम, छात्राहरूका लागि मिसन साहसी कार्यक्रम, निःशुल्क कम्प्युटर तालिम, कोचिङ् कक्षा, बालसंस्कार कार्यक्रम, सरसफाइ अभियान, वृक्षारोपण, रक्तदानलगायतका कार्यक्रम गर्दै आइरहेको छ ।