मोरङमा राष्ट्रिय परिचयपत्र विवरण संकलनकार्य अन्तिम चरणमा

बिराटनगर । नेपाल सरकारको राष्ट्रिय अभियान अन्तर्गत सुरु भएको राष्ट्रिय परिचयपत्र विवरण संकलनगर्ने कार्य मोरङ जिल्लमा अन्तिम चरणमा पुगेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले २०७८ साल असोज महिनादेखि शुरु गरेको विवरण सङ्कलन कार्य १७ वटा पालिकामध्ये १६ वटा पालिकामा सम्पन्न भइसकेको छ । अहिले विराटनगर महानगरपालिकामा यो अभियान सञ्चालनमा छ । सङ्कलन टोलीले पालिकाका प्रत्येक वडा वडामा पुगेर विवरण सङ्कलन गर्दै आएका छन् । राष्ट्रिय परिचयपत्रका लागि अहिले सम्म ६ लाख १८ हजार ५ सय ५२ विवरण सङ्कलन भएको र विराटनगर महानगरपालिका १९ वटै वर्डामा विवरण सङ्कलन कार्य भइरहेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनुभयो ।वडा वडामा विवरण संकलनगर्न थालिएपछि आफूहरूलाई निकै सहज भएको स्थानीयको भनाई छ । विराटनगर–७ कि सावित्री ढकालले घरदैलोमा आएर विवरण संकलनगर्न थालेपछि परिचयपत्र बनाउन सजिलो भएको बताउनुभयो । विराटनगर–९ का हरि प्रसाईँ आधा घन्टमा परिचयपत्र बन्ने गरेको र टोलीमा खटिएका कर्मचारीले परिचयपत्र फर्म समेत भरिदिँदा सबैलाई सहज भएको बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र बनाउनका लागि नेपाली नागरिकता आवश्यक हुन्छ । नेपाली नागरिकको जैविक र व्यक्तिगत विवरण सङ्कलन गरिन्छ । अभियानका फोकल पर्सनसमेत रहनु भएका सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले राष्ट्रिय परिचयपत्रमा नेपाल सरकारले प्रदान गर्ने १८ प्रकारका सेवा आबद्ध हुने भएकाले सबैलाई परिचयपत्र बनाउन आग्रह गर्नुभयो । उहाँका अनुसार, पहिलो चरणमा राहदानी बनाउन परिचयपत्र आवश्यक भएपनि नेपाल सरकारले दिने सबै सेवा क्रमशः यसमा समावेश हुँदै जाने भएकाले परिचयपत्र बनाउन कोइपनि छुट्नु हुँदैन । अभियानमा छुटेकाहरूले जिल्ला प्रशासन कार्यालय तथा रंगेली र उर्लाबारी स्थित इलाका प्रशासन कार्यालयमा विवरण संकलनगर्ने व्यवस्था मिलाइएको छ । अभियानमा छुटेकालाई परिचय पत्र बनाउन कार्यालय समयमा बनाउन सक्नेगरी व्यवस्था गरिएको छ । यसै बीच जिल्ला प्रशासन कार्यालयले ३५ सय थान राष्ट्रिय परिचयपत्र वितरण गरेको छ । त्यस्तै केही हप्तामा मोरङमा ६० हजार थान परिचय पत्र आउने तयारीमा रहेका जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *