अनावश्यक खर्चलाई कटौती गर्दै पूँजीगत खर्च बढाउनु पर्छ, मुख्यमन्त्री कार्की

कुमोद अधिकारी
९ मंसिर,
विराटनगर, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनावश्यक खर्चलाई कटौती गरेर पूँजीगत खर्च बढाउनु पर्ने बताउनुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगल आज आयोजना गरेको छलफल कार्यक्रममा मुख्यमन्त्री कार्कीले अनावश्यक खर्च कटौती गर्दै संरचनाको बाढीलाई रोक्नुपर्ने बताउनुभएको हो ।
उहाँले एकै प्रकृतिका संस्थाहरु केन्द्रदेखि स्थानीय पालिकासम्म बन्न थालेकोमा चिन्ता व्यक्त गर्दै यस्तो रोक्नु पर्ने बताउनुभयो ।
राष्ट्रिय पुँजीको विकास गर्ने विषयलाई प्राथमिकता दिएर काम गर्नुपर्ने बताउँदै उहाँले त्यसका लागि पर्यटन, सूचना प्रविधि, कृषि र निर्माण क्षेत्रमा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।
स्वदेशी उत्पादनलाई बढाउने र निर्यातजन्य उद्योगहरुलाई प्रोत्साहन गर्ने नीति ल्याउँदै प्रदेश र स्थानीय तहले गर्नसक्ने कामलाई उनीहरुको क्षमताको आधारमा केन्द्रले अधिकारहरु दिँदै जानुपर्नेमा मुख्यमन्त्री कार्कीले जोड दिनुभयो ।
जवाफदेही र उत्तरदायित्वको अभावले पनि सुधार गर्न नसकिएको उल्लेख गर्दै एकै दिनमा गर्न सकिने काम पनि लामो समयसम्म रहने प्रवृत्तिको अन्त्य गर्नु जरुरी रहेको उहाँले बताउनुभयो ।

प्रशासनिक सुधार र राजश्व उठाउने विषयमा जवाफदेहिता र सहकार्यको मोडलबाट काम गर्न सकिएमा नतिजा आउनसक्ने मुख्यमन्त्री कार्कीले बताउनुभयो ।
कतिपय अवस्थामा सुधारको लक्षण देखापरे पनि त्यसलाई नजरअन्दाज गरेर नकारात्मक प्रचार गर्ने प्रवृत्तिले पनि समस्या उत्पन्न हुने गरेको चर्चा गर्दै नकारात्मक कुराहरुलाई निरुत्साहन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम रानाले असल अभ्यासहरुलाई अन्यत्र लैजाँदै ठूलो पुँजीलाई मात्र होइन साना पुँजीलाई पनि प्रोत्साहन गरेर अगाडि बढ्नु पर्ने बताउनुभयो ।
निर्यातमूलक उद्योगलाई प्रोत्साहन गर्दै तत्काल लोकप्रिय हुने कार्यक्रम भन्दा दीर्घकालीन कार्यक्रमहरु अगाडि सार्नुपर्ने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *