कुमोद अधिकारी विराटनगर
१४ भदौ,
आत्महत्या रोकथाम सहजिकरण सम्बन्धि तालिम शुक्रवार देखि विराटनगरमा शुरु भएको छ । आत्महत्या रोकथाम एंव निरुत्साहित गर्न त्यसको जोखिम र पहिचानका विषयमा जानकारी गराउने उदेश्यले तालिमको आयोजना गरिएको हो ।
विराटनगर महानगरपालिकाको समन्वयमा साइ डेस्क र वल्डलिंक कम्युनिकेशन प्रा.लिको आयोजनामा दुई दिनसम्म चल्ने तालिममा विराटनगर महानगरपालिकाका १९ वटै वडा स्वास्थ्यकेन्द्रका प्रमुख ,महानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख तथा कर्मचारी सहित विद्यालयका शिक्षकहरुको सहभागिता रहेको छ । तालिममा महानगरपालिका विभिन्न विद्यालयका १० जना शिक्षकको सहभागिता छ । तालिमको उद्घाटन गर्नुहुँदै विराटमागर महानगरपालिका प्रमुख नागेश कोइरालाले नेपालमा आत्महत्याको घटनाहरु बढदै गइरहेकाले त्यसको रोकथामका लागि यस विषयमा स्थानिय स्तरमा जनचेतना जगाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले आत्महत्या समस्याको समाधान होइन भन्नुहुँदै कुनै पनि समस्या आएमा तनाव लिने भन्दापनि सवै संग सल्लाह सुझाव लिएर समस्याको समाधान खोज्नुपर्ने उहाँको भनाई थियो । समस्यामा परेका व्यक्तिलाई तनाबबाट मुक्त राख्न परिवार र समाजको भुमिका पनि महत्वपुर्ण रहने मेयर कोइरालाको भनाई थियो । सहभागीहरुलाई इन्टोमोलोजिष्ट डा.नगेन्द्र सिंह ठगुन्नाले तालिम प्रदान गर्दै आउनु भएको छ । उहाँले आत्महत्या लाई कसरी निरुत्साहित र रोकथाम गर्न सकिन्छ भन्ने विषयमा तालिम प्रदान गर्दै आउने भएको वल्डलिंगका प्रोजेक्ट म्यानेजर सतीसुवेदीले बताउनुभयो ।
महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख दिलिपकुमार यादवले तालिम पछि महानगरपालिकाले सवै वडामा आत्महत्या रोकथामका विषयमा स्थानिय स्तरमा विभिन्न कार्यक्रम संचालन गर्ने बताउनुभयो ।
दुवै संस्थाको संयुक्त आयोजनामा विराटनगरमा साइड वाक टक संचालन गरिएको छ । व्यक्तिमा रहेको कुनैपनि तनाव हटाउन आफना मनमा रहेका कुरा प्रष्ट रुपले राख्ने वातावरण जनाउदै आवश्यक सल्लाह सुझाव तथा परामर्श दिने उदेश्यले साइड वाक टक संचालन गरिएको वल्डलिंकका प्रोजेक्ट म्यानेजर सुवेदीले बताउनुभयो । विराटनगरका बसपार्क र महेन्द्र मोरङ क्याम्पसमा यो कार्यक्रम संचालन गर्दा यो कार्यक्रममा २ सय ५० जना भन्दा बढिले आफनो मनको कुरा शेयर गरेको सुवेदीको भनाई छ । विराटनगर महानगरपालिकामा चार महिना सम्म संचालन हुने साइड वाक टक मा ३० वटा कार्यक्रम संचालन हुने जनाइएको छ ।