कुमोद अधिकारी विराटनगर
,१४ भदौ ः समाजमा महिलामा हुने दुव्र्यवहार अन्त्य गर्न सरकारले महत्वपूर्ण भूमिका खेल्नु पर्ने एक कार्यक्रमका सहभागीहरुले बताउनु भएको छ ।
दलित महिला संघ कोशी प्रदेशसमितिद्वारा विराटनगरमा आयोजित बेजिङ्ग घोषणा पत्र कार्ययोजना कार्यान्वयन गर्ने सम्बन्धमा आयोजित प्रदेशस्तरीय गोष्ठीमा सहभागीहरुले घरेलु हिंसा , दलित शिक्षा, सबै क्षेत्रमा समावेशी पहुँच हुनु पर्ने सुझाव दिनु भएको हो ।
गोष्ठीको उद्घाटन गर्दै प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले सङ्घीयतामा मुलुकमा बसोवास गर्ने सबै जातजातिको समस्या समाधान हुने विचार व्यक्त्त गर्नु भयो ।
उहाँले संविधानले हिमाल, तराई र पहाडका जनतालाई आफ्नो घर आङ्गनमा सिंहदरवारको अधिकार उपलव्ध गराउन प्रदेश र स्थानिय सरकार निर्माण गरेको धारणा राख्नु भयो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारीले ऐन कानुनकालाई इमान्दारिताका साथ कार्यान्वयन गरी समाजमा रहेको छुवाछुत, भेदभाव, महिला हिँसा अन्त्य गर्नु पर्ने सुझाव दिनु भयो ।
कोशी प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवारले छुवाछुत, महिला हिंसा न्यूनिकरण गर्न मन्त्रालयले कार्य योजना बनाएर कायान्वयन गर्न आवश्यक बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनु भयो ।
संघकी प्रदेश अध्यक्ष पाण्डु परियार,प्रदेशकी पूर्व राज्यमन्त्री सुनिता गुरुङ राम,प्रदेश सभा सदस्यद्वय सपना दर्जी र कमला दर्नाल,केन्द्रीय महासचिव रेणु सिजापति, प्रदेश सचिव दुर्गा नेपाली, मोरङ अध्यक्ष शर्मिला परियार, गैर सरकारी संघकी विष्णु शर्माले प्रदेश सरकारले दलित महिलाका लागि सरकारले छुटै बजेटको व्यवस्था गर्नुपर्ने सुझाव दिनु भयो ।
गोष्ठीमा प्रदेशका १४ जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।