कुमोद अधिकारी ६ भाद्र
विगतको वर्ष जस्तै कृष्णअष्ठमीको भोलीपल्ट विराटनगरमा निकालिने श्रीराधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणामा पुगेको छ । भाद्र १० गते सोमबार श्रीकृष्ण जन्माष्टमी पर्व पदर्छ । सो पर्वको भोली पल्ट अर्थात भाद्र ११ मंगलवार विराटनगरमा नेपालकै सवैभन्दा ठुलो र ऐतिहासिक तथा धार्मिक महत्व बोकेको श्रीराधाकृष्ण रथयात्रा आयोजना हुदै आएको छ । रथयात्रा तयारीका विषयमा आयोजक समितिले विहिवार पत्रकार सम्मेलनगरि तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
पत्रकार सम्मेलनमा रथयात्रा समारोह समितिका अध्यक्ष कैलाश रेग्मीले रथमा रंगरोगन तथा ग्रिजिङ गर्ने काम सम्पन्न भइसकेको बताउनुभयो । रथलाई भारतको कलकत्ताबाट आएका कालिगडहरुले रंगरोगन तथा रथ सिंगारने काम गरेका हुन ।
त्यस्तै रथ हिडने मार्गलाई व्यवस्थित बनाउन खाल्डाखुल्डि सडकहरु पुर्ने र विजली तथा केवलका तारलाई व्यवस्थापन गर्ने कार्य भइरहेको अध्यक्ष रेग्मीले बताउनुभयो । राधाकृष्ण भगवानको मुर्ति राखेर तानिने रथलाई १० गते राती फुलगुच्छाले थप सिंगारिने छ ।

वि.स.१९८८ सालमा विराटनगरको तिनपैनी स्थित राधाकृष्ण मन्दिरबाट खटयात्रा बाट सुरु भएको ऐतिहासिक जात्रा वि.स. २०२५ सालबाट श्रीराधाकृष्ण रथयात्रामा परिणत भएको हो ।
२०२५ सालमा विराटनगरका समाजसेवी भुपालमान सिंह कार्की र सत्यनारायण धनवातले भव्य एंव विशाल रथको निमार्ण गरि रथयात्रा महोत्सव संचालन गर्नु भएको थियो । यसवर्षको रथयात्रा ९३ वर्ष पुगेको अवसरमा भव्य रुपले मनाउनेगरी तयारी गरिएको छ ।राधाकृष्णको मन्दिर अगाडीबाट राधाकृष्ण भगवानको युगलजोडी विराजमान हुनु भएको रथयात्रा भाद्र–११ गते दिउसो ३ः३० बजे निकालिदै छ । मन्दिरबाट प्रारम्भ भई मेनरोड , ट्रफिक चौक,रोडशेष हुदै महेन्द्र चौक, बरगाछी हँुदै पुनं मन्दिर परिसरसम्म आइपुग्दा ४३ स्थानमा विश्राम गर्दै रथले ९ किलोमिटरको दुरी ६ घण्टाको समयावधिमा तय गर्ने छ । रथयात्रामा प्रयोग गरिने रथ प्यागोडा शैलीमा बनाइएको छ । सो रथको लम्वाई २२ फिट, चौडाई १४ फिट र उचाई १८ फिट रहेको छ । रथको अग्रभागको जुवाबाट ७५ फिट लम्वाईका दाँया र बाँया फैलिएका डोरीका लठ्ठा रहने छ । जसलाई दाँयापट्टि बाट पुरुष भक्तजन र बाँयापटिबाट महिला भक्तजनहरुले लठ्ठालाई समाएर रथ संचालनगर्ने परम्परा रहेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ९३औं संस्करणको श्रीराधाकृष्ण रथयात्राको शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ ।
रथयात्रा आयोजक समितिका अध्यक्ष रेग्मीले कोशी प्रदेश सहित नेपाल र भारतका ५ लाख भन्दा बढि धर्मावलम्बीहरू रथयात्रामा सहभागि हुने बताउनुभयो । रथयात्राका आयोजनाका लागि दुई महिना अघि देखिनै तयारी शुरु गरिएको छ ।
कार्यसमितिका अध्यक्ष कैलाश रेग्मी नेतृत्वको ५०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।
समितिमा मन्दिर कार्यसमिति, व्यवस्थापन समितिका सम्पूर्ण सदस्यसहित धार्मिक, आध्यात्मिक, प्रशासनिक, उद्योगी, व्यवसायी र समाजका लब्ध प्रतिष्ठित व्यक्तित्व सहभागी छन् ।
रथयात्रामा कुनै कमि कमजोरी रहन नदिई भव्यता प्रदान गर्न १८ उपसमिति गरिएको छ । यसपटक विराटनगरमा निकालिने राधाकृष्ण रथयात्रामा डिजिटल निगरानी गरिने भएको छ । रथयात्रालाई सुरक्षित एंव व्यवस्थित बनाउदै कुनैपनि अवान्छित घटना हुन नदिन डिजिटल निगरानी गर्न लागिएको हो ।
रथयात्रामा प्रहरीले ड्रोन क्यमरा तथा सिसिटिभिको माध्यमबाट डिजिटल निगरानी गर्न लागेको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्राइले बताउनुभयो । रथयात्रामा भक्तजनका सुरक्षाका लागि १५ सयभन्दा बढि सुरक्षाकर्मी परिचालन हुने जनाएको छ ।