शारीरिक र मानसिक स्वास्थ्य लागि योग अपरिहार्य , मेयर कोइराला

कुमोद अधिकारी माघ,१५
विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले योग शारीरिक, मानसिक, आध्यात्मिक अभ्यास र अनुशासनका लागि अपरिहार्य रहेको बताउनुभएको छ ।
विराटनगर महानगरपालिका वडा नम्बर ८ र पतञ्जली योग महानगर समितिले संयुक्त रुपमा विद्यार्थीका लागि आयोजना गरेको पाँचदिने योग शिविरको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले शारीरिक, मानसिक र सामाजिक हिसाबले स्वस्थ बनाउने एक मात्रै उपाय योग र ध्यान भएको उल्लेख गर्नुभयो ।
विद्यार्थीको मानसिक तथा शौद्धिक विकासका लागि पनि योग महत्वपूर्ण रहेको मेयर कोइरालाले बताउनुभयो । “शरीरलाई स्वास्थ्य अवस्था कायम राख्न योग आवश्यक छ । योगले तन र मनमा फूर्ति आउँछ । योगका कारण विचार स्वच्छ हुन्छ । यदि विचार स्वच्छ भएमा हाम्रो मानसिक अवस्था पनि सुधार गर्न सकिन्छ,” मेयर कोइरालाले भन्नुभयो, “योगका कारण आज धेरै बिरामीले नयाँ जीवन पाएका छन् ।” विद्यार्थीको शारीरिक र मानसिक अवस्था स्वस्थ भए मात्रै देशको भविष्य सुन्दर हुने मेयर कोइरालाको भनाइ थियो । उहाँले सामाजिक सञ्जाल र प्रविधिको बढ्दो प्रयोगले गर्दा शारीरिक अभ्यास नहुँदा मानिसलाई विभिन्न रोगले सताउने गरेको उल्लेख गर्नुभयो । शारीरिक रुपमा स्वस्थ एवं मानसिक रुपमा आनन्द प्राप्त गर्नका लागि योग नै उत्तम विकल्प भएको मेयर कोइरालाको कथन थियो । कोइरालाले हरेक विद्यालयमा योग कक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
नियमित योग गर्दा तनाव, लत, रोगसमेत निवारण गर्न सकिने उहाँले बताउनुभयो । कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष राम पोखरेल, पतञ्जली योग समितिका अध्यक्ष सुरेशकुमार अग्रवाल, महिला समिति अध्यक्ष लक्ष्मी चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निश्चल अर्याल, प्रधानाध्यापक विष्णुकान्त झा, सहायक प्रअ देवीप्रसाद दाहाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । विराटनगर–८ स्थित महेन्द्र माविमा आयोजित शिविरमा पतञ्जली योग समिति, मोरङ र महिला पतञ्जली योग समितिले सहयोग गरेका छन् । पतञ्जली योग समिति विराटनगर महानगर समितिकी अध्यक्ष शिल्पा प्याकुरेलले विद्यार्थीलाई योग अभ्यास सिकाउनुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *