कुमोद अधिकारी, विराटनगर
स्वास्थ्य सेवाप्रवाहको कार्यसम्पादन तथा मुल्याकंनको आधारमा धनपालथान गाउँपालिकाले मोरङ जिल्लामै प्रथम एंव उत्कृष्ठ स्थान हासिलगर्न सफल भएको छ ।
जिल्लाको १७ वटा पालिकामध्ये स्वास्थ्य सुुचकांकको प्रगतीको आधारमा पालिकाले प्रथम स्थान हासिलगर्न सफल भएको हो । स्वास्थ्य कार्यालय मोरङको स्वास्थ्य कार्यक्रमको बार्षिक समिक्षा गोष्ठिमा प्रथम स्थान हासिलगर्न सफल भएको भन्दै धनपालथान पालिकालाई प्रसंसापत्र द्धारा सम्मान गरिएको थियो ।
कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा.सुधा देवकोटा तथा स्वास्थ्य कार्यालयका प्रमुख डा.सुरेश मेहताले प्रसंसापत्र प्रदान गर्नु भएको थियो ।

पुर्ण खोप घोषणा भएको पालिकाको सातवटै वडामा पोषणको अवस्था, खोपको अवस्था , गर्भवती महिलाको स्वास्थ्य चेकजाँच, स्वास्थ्य केन्द्रमा प्रसुती गराउन आउने संख्या, स्वास्थ्य सेवा प्रवाह लगायत विभिन्न सुचकांक लाई आधार मानेर पालिकालाई प्रथम स्थान घोषणा गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषिराज सेठले बताउनुभयो । स्वास्थ्य शाखा कार्यालयले एक कार्यक्रमको आयोजना गरि सो प्रसंसापत्र पालिकाका अध्यक्ष जिवछप्रसाद गच्छदार तथा उपाध्यक्ष नसिमाबानो लाई प्रदान गरेको छ ।
नेपाल भारत सिमासंग जोडिएको पालिकाले ग्रामिणक्षेत्रका अति विपन्न समुदायलाई घरघरमा गएर स्वास्थ्य सम्बन्धि विभिन्न प्रकारका सेवा प्रवाह गर्दै आएको छ । जसका कारण स्वास्थ्य केन्द्रमा प्रसुती गराउन आउने महिलाहरुको संख्यामा समेत वृद्धि हुन थालेको छ ।