मोरङको सुन्दरहरैँचामा हात्ती मृत फेला

मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित जनजागरण सामुदायिक वनभित्र हात्ती मृत फेला परेको छ। हात्तीलाई गोली प्रहार गरी मारेको आशंका गरिएको छ।

सोमबार बिहान शंकास्पद अवस्थामा हात्ती मृत फेला परेको बताउँदै, डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णुप्रसाद घिमिरे भन्नुभयो ‘बिहान शंकास्पद अवस्थामा जङ्गली हात्ती मृत फेला परेको खबर प्राप्त भएको हो। खबर प्राप्त हुनसाथ विज्ञ र प्रहरीसहितको टोली पुगेर घटनाको अनुसन्धान थालेको छ। हात्तीको अहिलेसम्मको प्रकृति हेर्दा एउटा गोली लागेको देखिन्छ। गोली हानी मरेको अवस्थामा फेला परेको हात्तीको पुच्छर काटेको छ भने अन्य भागमा केही भएको देखिँदैन।’

कोशी टाप्पु र डिभिजन वन कार्यालय मोरङको पशु चिकित्सकसहितको टोलीले हात्तीको पोस्टमार्ट थालेको छ।

सोमबार बिहान हात्ती मृत फेला परेको जानकारी स्थानीयले प्रहरी र वन कर्मचारीलाई गराएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले बताउनुभयो ।

भाले हात्ती लगभग १२ वर्षसम्मको हुनसक्छ। बिहान साढे ४ बजेतिर घटनास्थल आसपासमा बन्दुक पड्किएको आवाज स्थानीयले सुनेको बताइएको छ। घटना स्थल नजिकै जनजागरण सामुदायिक वनको नर्सरी छ। नर्सरीभित्र रहेका बेला हात्तीलाई गोली हानिएको अनुमान वन कर्मचारीले गरेका छन्।

आइतबार साँझमा पूर्वाञ्चल विश्वविद्यालयको उत्तर र पूर्वतर्फ जङ्गली हात्तीको बथान देखिएको थियो। घटनास्थल विश्वविद्यालयको पूर्वतर्फ हो।

भारतबाट नेपाल आएका हात्तीको बथानले कोशी प्रदेशको झापा, मोरङ र सुनसरीमा उपद्रो मच्चाइ रहेको छ। साउनयता हात्तीको आक्रमणबाट झापामा ५, मोरङ र सुनसरीमा १–१ जनाको मृत्यु भइसकेको छ। एक महिनायता मोरङको बेलबारी र सुन्दरहरैँचा क्षेत्रमा २५ , ३० वटाभन्दा बढी हात्ती बथान दैनिक देखिने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *