कुमोद अधिकारी
जेष्ठ १४,
विराटनगर । ब्यावसायिक हक, हितको सम्वद्र्धन र निजी क्षेत्रको साझा मुद्दाहरुका विषयमा सहकार्य गर्ने उद्देश्यले उद्योग संगठन मोरङ र बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका प्रतिनिधिहरु बीच छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ ।
उद्योग संगठन मोरङको सचिवालयमा दुवै संस्थाका प्रतिनिधिहरुबीच भएको छलफलमा संगठनका अध्यक्ष नन्दकिशोर राठीले मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उद्योगव्यवसाय क्षेत्र अहिले विभिन्न चुनौतीबाट गुज्रिरहेको बताउनुभयो ।
उद्योगी व्यवसायीका साझा मुद्दामा देशभरका उद्योग वाणिज्य संघहरुबीच एकताबद्ध पहल आवश्यक रहेको धारणा राख्दै उद्योगको संरक्षण, लगानीमैत्री वातावरण निर्माण, औद्योगिक नीतिमा सुधारका लागि नीजि क्षेत्रका संस्था वीच सहकार्यको आवश्यकता रहेको उहाको भनाई थियो ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले उद्योगव्यवसायको उद्गमस्थलका रुपमा रहेको विराटनगरका व्यवसायीबाट सिक्नुपर्ने धेरै कुरा रहेको बताउँदै उद्योग संगठन मोरङले कोशी प्रदेशका उद्योग व्यवसायको हितका लागि खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
उहाले मुलुकको आर्थिक संकट, बजारको संकुचन तथा घट्दो क्रयशक्तिका कारण व्यवसाय क्षेत्र प्रभावित भइरहेको उल्लेख गर्दै यस्तो अवस्थामा निजी क्षेत्रबीच अनुभव आदानप्रदान र सहकार्य अपरिहार्य रहेको वताउनुभयो ।
संगठनका निवर्तमान अध्यक्ष राकेश सुरानाले उद्योग संगठन मोरङले विगतदेखि नै उद्योगमैत्री वातावरण निर्माण, लगानी प्रवद्र्धन तथा औद्योगिक विकासका पक्षमा निरन्तर पैरवी गर्दै आएको उल्लेख गर्दै निजी क्षेत्रबीच सहकार्य, समन्वय र साझा धारणा निर्माणमार्फत राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउन सकिने धारणा व्यक्त गर्नुभयो ।
संगठनका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलालले वर्तमान आर्थिक अवस्थाले उद्योगी व्यवसायीलाई ठूलो दबाबमा पारेको उल्लेख गर्दै प्रदेशगत रुपमा उद्योग वाणिज्य संघहरुबीच नियमित संवाद र सहकार्य हुनसके निजी क्षेत्रका साझा मुद्दालाई राष्ट्रिय स्तरमा प्रभावकारी रुपमा उठाउन सहज हुने वताउनुभयो ।
छलफलमा दुवै संस्थाका पदाधिकारीहरुले उद्योग, व्यापार, पर्यटन, लगानी प्रवद्र्धन तथा निजी क्षेत्रका साझा समस्याका विषयमा आगामी दिनमा सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।