विराटनगर
कोशी प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रियालाई लिएर उत्पन्न विवाद बुधबार झन् चर्किएको छ । प्रतिपक्षी दलहरूको अवरोधका गरीरहे पनी सभामुख अम्बरबहादुर विष्टले बैठक सञ्चालन गर्न खोजेपछि पूर्वमुख्यमन्त्री राजेन्द्र राई रोस्ट्रम उक्लिएर माइक तान्ने प्रयास गर्नु भएकाे थियाे ।
प्रतिपक्षी सांसदको सिटबाट उठेर रोस्ट्रमतर्फ पुगेका राईले माइक तान्न खोजेपछि मर्यादापालकहरूले उहाँलाई रोकेका थिए । घटनापछि सभामुख विष्टले सांसदहरूलाई मर्यादित व्यवहार गर्न आग्रह गर्नु भएकाे थियाे ।
प्रतिपक्षी दलहरूले मंगलबारको बैठकमा नीति तथा कार्यक्रममाथि संशोधन दर्ता गर्न समय नदिई पारित गरिएको भन्दै विरोध जनाउँदै आएका छन् । बुधबार पनि उनीहरूले विरोधलाई निरन्तरता दिएपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गर्नु परेकाे थियाे ।
सो समयमा सभामुख विष्टकै अगुवाइमा बसेको विपक्षी दलका नेता इन्द्रबहादुर आङ्बो तथा सत्ता पक्षका नेताहरूसहित बसेको बैठकले निष्कर्ष निकाल्न नसकेपछि १६ गते शनिबारसम्मको लागि बैठक स्थगित भएको छ ।
नेकपा दलका नेता इन्द्रबहादुर आङ्बोले सभामुख विष्ट आफैँले गतिरोध अन्त्यको लागि गम्भीर नबनेको बताउनुभयाे । ‘बरु सत्ता पक्ष दलहरूको तर्फबाट विपक्षीलाई सम्बोधन गरेर अगाडि बढ्ने सुझाव आयो । तर, सभामुख ज्यू आफैँले खुलाउन चाहनु भएन,’ आङ्बोले भन्नुभयाे।