कुमोद अधिकारी
पुस, १७
विराटनगर । विराटनगर महानगरपालिका स्तरिय मानव वेचविखन तथा ओसारपसार नियन्त्रण समिति गठन गरिएको छ । मोरङका १७ वटा स्थानीय तहहरु मध्ये समिति गठन गर्नेमा विराटनगर पहिलो भएको छ ।
महानगरपालिकाले मानव वेचविखन तथा ओसारपसार नियन्त्रण समिति (गठन तथा सञ्चालन) सम्वन्धी कार्यविधि २०८२ बनाएर गत पुस ७ गते राजपत्रमा प्रकाशित गरेको थियो । कार्यविधि राजपत्रमा प्रकाशित भएपछि महानगर स्तरिय समिति गठन भएको हो ।
समितिको संयोजकमा महानगर प्रमुख रहने व्यवस्था छ । प्रमुखको संयोजकत्वमा १० सदस्यीय समिति गठन भएको सदस्य सचिव मञ्जु लोहनीले जानकारी दिनुभयो । समितिको पहिलो बैठकले समितिलाई पूर्णता दिनका लागि सदस्यमा एबीसी नेपाल र माईती नेपाललाई राख्ने निर्णय गरेको छ ।
स्थानीय तहमा संवन्धित क्षेत्रमा क्रियाशिल संघसंस्था अन्र्तगत दुई संस्थाका प्रतिनिधिहरुलाई सदस्यका रुपमा मनोनित गरिएको हो । महानगरका १९ वटै वडामा वडास्तरिय समिति पनि गठन हुने सदस्यसचिव लोहनीले बताउनुभयो ।
उहाँका अनुशार समितिले मानव वेचविखन तथा ओसारपसार विरुद्ध नगर तथा वडामा अभियान सञ्चालन, सुरक्षा तथा आवास गृहको अनुगमन तथा निरीक्षण, मानव वेचविखन विरुद्धको कोष स्थापना र सञ्चालन तथा मानव वेचविखन तथा ओसारपसार विरुद्ध स्थानीय जनप्रतिनिधि, नागरिक समाज , तथा सरोकारवालालाई प्रशिक्षण तथा क्षमता विकासको कार्यक्रम गर्ने छ ।