भ्रष्टाचार नियन्त्रण एवं सुशासन कायममा प्रतिवद्ध –मुख्यमन्त्री कार्की

कुमोद अधिकारी
२३ मङसिर,
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा सरकारले भ्रष्टाचार न्यूनिकरण गरी सुशासन कायम गर्न आफु प्रतिवद्ध रहेको बताउनु भएको छ ।
“भोलिको सदाचार निर्माण ः यूवाहरुसँग भ्रष्टाचार विरुद्ध एक्यवद्धता” नाराका साथ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्वारा आज विराटनगरमा आयोजित भष्टाचार विरुद्धको २५ औँ अन्तराष्ट्रिय दिवस–२०२५ को उद्घाटन गर्दै उहाँले राष्ट्र निर्माण र नेपाली जनताप्रति सुशासन कायम गर्ने प्रतिवद्धता अनुसार भ्रष्टाचार विरुद्ध अभियानमा लाग्न प्रण गर्न सबैलाई आब्हान गर्नु भयो ।
मुख्यमन्त्री कार्कीले मुलुकलाई सुसंस्कृति, सभ्य, आधुनिक , आर्थिक विकसित राष्ट्र बनाउन भ्रष्टचार न्यूनिकरण अभियान प्रतिवद्धता जनाउनु पर्नेमा जोड दिनु भयो ।
उहाँले बेरुजु एवं पेश्की छफर्याैट, नीति निर्माण,बजेट कार्यान्वयन क्षेत्र अधिकारको न्याय सम्पादनमा इमान्दारीका साथ कार्य गर्न कर्मचारीहरुलाई निर्देशन दिनु भयो ।
मुख्यमन्त्री कार्कीले भ्रष्टाचार न्यूनियनकरण अभियान सञ्चालन गर्नका लागि प्रदेशका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख,कार्यकारी अधिकृत एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहभागीतामा आगामी दुई महिनाभित्र कार्यक्रम सञ्चालन गरी मुलुकमा सन्देश प्रवाह गरिने बताउनु भयो ।
उहाँले समाजलाई सदाचारको वाटोमा लग्न एवं असल अभ्यासका लागि भ्रष्टाचार नियन्त्रणमा हामीहरु सबै लाग्नु पर्ने सुझाव दिनु भयो ।
प्रदेशका निमित्त प्रमुख सचिव राजुप्रसाद गुरागाईले भ्रष्टाचार अपराध हो र यो दण्डनिय हुने धारणा राख्नुभयो ।
जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राईले भ्रष्टाचार नियन्त्रण गर्न वर्तमान कानूनमा संशोधन गर्नुपर्ने सुझाव दिनुभयो ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले मन, वचन र कर्मले भ्रष्टाचार विरुद्धको अभियानमा लाग्न समाजलाई सन्देश दिनु पर्ने धारणा राख्नुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रमुख खगेन्द्रप्रसाद रिजालले भ्रष्टचार मुलुकको समृद्धिको वाधक भएकोले यसको नियन्त्रण कायम गरी सुशासन कायम गर्नु हामीसबैको जिम्मेवारी रहेको धारणा राख्नुभयो ।
मुख्यमन्त्री कार्यालयका सचिव एकदेव अधिकारीले प्रदेश सरकारले भ्रष्टाचार विरुद्धका प्रयास एवं नियन्त्रणका प्रयास र सुधारका क्षेत्रहरु बिषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा प्रदेश सरकार सबै मन्त्रालयका सचिव, कर्मचारी, सुरक्षा निकायका प्रदेश प्रमुखहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *