कुमोद अधिकारी
१ वैसाख,
विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै निशुल्क ब्रिज कोर्षको कक्षा सञ्चालन गर्ने भएको छ ।
यहि बैसाख ७ गतेदेखि सुरु हुने ब्रिज कोर्षमा एभरेष्ट स्कुलका विद्यार्थीसँगै अन्य विद्यालयबाट एसईई दिएका करिब तीन सय विद्यार्थीलाई निशुल्क .कक्षा सञ्चालन गर्ने विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले बताउनुभयो ।
उहाँका अनुसार ब्रिज कोर्षमा व्यवस्थापन र विज्ञान संकायका शैक्षिक पाठ्यक्रमसँगै अन्य विभिन्न कृयाकलापसमेत गराइनेछ । एआई प्रोग्रामिङ, रोबोटिक्स कक्षा, अंग्रेजी भाषा कक्षा, फुटबल, पौडी तथा बास्केटबलका समेत कक्षाहरु सञ्चालन हुनेछन् । ’यो ब्रिज कोर्षले विद्यार्थीहरुलाई अबको अध्ययन कसरी अघि बढाउने भन्ने बिषयमा मात्र उत्प्रेरणा जगाँउदैन’ प्रिन्सिपल पुरीले भन्नुभयो,‘यसले विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलापमा पनि सक्रिय सहभागिता जनाउन प्रेरित गर्छ ।’ यस्तै उच्च शिक्षाको लागि पाइला अघि चाल्दै गर्दा शिक्षण संस्थाको भौतिक पूर्वाधार र शैक्षिक वातावरणको अध्धयन गरि शिक्षण संस्था चयन गर्न समेत सघाउ पुग्ने प्रिन्सिपल पुरीले विश्वास ब्यक्त गर्नुभयो ।