१६ वर्षमुनिका बालबालिकाको रामलाल गोल्छा आँखा अस्पतालमा निःशुल्क परीक्षण

कुमोद अधिकारी विराटनगर
२२ असोज,
रामलाल गोल्छा आँखा अस्पताल फाउन्डेसन विराटनगरले तीन दिने निःशुल्क आँखा शिविर शुरु गरेको छ ।
प्रत्येक वर्ष अक्टोबर महिनाको दोश्रो विहीबार विश्वभर मनाईने विश्व दृष्टि दिवसको अवसरमा असोज २१ देखि २३ गते सम्म अस्पतालमा १६ वर्षभन्दा मुनीका बालबालिकाका लागि निशुल्क आँखा शिविर सञ्चालन गरिरहेको आज अस्पतालले पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।
उपचार हुन सक्ने रोगले समेत बालबालिकामा बढाई रहेको अन्धोेपनको समस्या निराकरण तथा निदानमा योगदान गर्ने उद्देश्यले अस्पतालले तीन दिने निःशुल्क आँखा शिविरको आयोजना गरेको अस्पताल व्यवस्थापक नविन राजवंशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, बच्चाको जन्म भएको एक महिनामा स्कुल भर्ना गर्नु अघि र त्यसपछि प्रत्येक वर्ष–वर्षमा अनिवार्य रुपमा बच्चाको आँखा जाँच, आँखा रातो भएमा, डेढो भएमा, आँखाको दृष्टि धमिलो भएमा, आँखा दुखेमा, चिप्रा लागिरहेमा, आँशु बगिरहेमा, आँखा सामान्य भन्दा सानो वा ठुलो भएम , आँखाको कालो भागमा सेतो देखिएमा, चोट पटक लागेमा साथै समय अगावै बच्चाको जन्म भएमा र कम तौलको बच्चा जन्मिएमा जति सक्दो छिटो नजिकैको आँखा केन्द्र तथा अस्पतालमा गएर आँखा जाँच गराउनु पर्दछ ।
२०३९ सालमा स्थापित रामलाल गोल्छा आँखा अस्पतालमा बार्षिक रुपमा करिव ७ हजारको शल्यक्रिया, करिव ७० हजारको जाँच हुने गरेको व्यवस्थापक राजवंशीले जानकारी दिनुभयो । उहाँका अनुसार आँखा परीक्षण गरिएका मध्ये १२ प्रतिशतको बालबालिका छन् ।
अस्पतालमा दैनिक दृष्टि दोष समस्या भएका करिव ४० जना बालबालिका आउने गरेको राजवंशीले बताउनुभयो । अस्पतालले सुनसरीको इटहरी, देवागञ्ज, बराहक्षेत्र, मोरङको सुनबर्षी, धनपालथान गाउँपालिकामा सामुदायिक आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *