खनजोत नगरी मकै खेती गर्न सिकाउँदै जीवन विकास

कुमोद अधिकारी विराटनगर
२१ भदौ,
नया प्रविधि अपनाउदै जीवन विकास समाजले खनजोत बिनानै मकै खेतीगर्ने तयारी गरेको छ । भारतको पश्चिम बंगालमा प्रयोग भइरहेको यो प्रविधि मकैखेतीका लागि जीवन विकासले नेपालमा पहिलो पटक प्रयोग गर्न लागेको हो ।
यो कार्यक्रम सिमिट, उद्योग कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेश , जीवन विकास समाज मुनाफा वितरण नगर्ने कम्पनीको समन्वयमा रूपान्तर परियोजना अन्तरगत सञ्चालन गरिएको हो ।
धानबाली उठाइसकेपछि परीक्षणको रुपमा मोरङका विभिन्न पालिकामा खनजोत बिनानै मकै खेती गर्ने जीवन विकास समाज मुनाफा वितरण नगर्ने कम्पनीका कार्यकारी निर्देशक कुलमणि तिम्सिनाले जानकारी दिनुभयो ।
खनजोत नगरी गरिने मकै खेती (जिरो टिलेज मेज क्यालिब्रेसन)ले खेतीको लागत घटाउने र उत्पादन बढाउनेछ । ‘यो प्रविधिको प्रयोग गर्दा खेती गर्नुअघि खनजोत गर्नुपर्दैन, लगाउन सहज पनि छ,’ उहाले भन्नुभयो,‘ मोरङको धनपालथान गाउँपालिका मकै खेती हुने क्षेत्र हो, यो वर्ष विभिन्न स्थानमा परीक्षणका रुपमा यो प्रविधिबाट खेती गर्छौं ।’
खनजोत बिनै मकै खेती गर्नका लागि जीवन विकासले प्राविधिकलाई दुई दिने तालिम दिदैछ । सुक्रवारवाट सुरु भएको तालिममा प्राविधिकसहित २५ जना सहभागी छन् ।
नेपालका प्राविधिकलाई तालिम दिनका लागि भारतको पश्चिम बंगाल कुच बिहारको सतिश सतमाईल क्लबका प्राविधिक आएका छन् । तालिममा कृषि अनुसन्धान केन्द्र तरहरा ,जीवन विकास समाज, नेपाल बहुद्देश्यीय सहकारी संस्था झापा, सगुन कृषि सहकारी, धनपालथान गाउँपालिका ,उद्योग कृषि तथा सहकारी मन्त्रालयका कर्मचारी सहभागी छन् ।
शून्य खनजोत प्रविधि मार्फत खेती गर्दा लागत कम र उत्पादन बढी हुने उद्योग कृषि तथा सहकारी मन्त्रालयका योजना महाशाखा प्रमुख पशुपति पोखरेल बताउनुभयो । नयाँ प्रविधि भएका कारण यो प्रभावकारी हुनसक्ने उहाकोभ भनाई छ । ‘शून्य खनजोतको खेतीको फाइदा भनेको लागत एकदमै कम हुन्छ, तर शुरुको अवस्थामा झारको नियन्त्रण चाहिँ गर्नुपर्छ,’ तालिमको उद्घाटन गर्दै उहाले भन्नुभयो,‘ तालिमपश्चात दक्ष प्राविधिक तयार भई शून्य खनजोत प्रविधि कार्यान्वयनमा टेवा पुग्ने विश्वास लिइएको छ ।’
उक्त प्रविधिको अवलम्बन तथा कार्यान्वयन गर्दै आगामी दिनहरूमा शून्य खनजोत प्रविधि बिस्तार गर्दै अगाडि बढ्ने जीवन विकास समाज मुनाफा वितरण नगर्ने कम्पनीका अध्यक्ष अजय कुमार मण्डलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *