कुमोद अधिकारी विराटनगर
२८ साउन
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा हुन लागेको कृषि एक्स्पोको तयारी तीव्र पारिएको छ ।
आगामी भदौ २७ देखि ३० गतेसम्म मोरङको कटहरी कृषि थोक बजारमा आयोजना हुने सो एक्स्पोको तयारी तीव्ररुपमा अगाडि बढिरहेको आयोजकाले जनाएको छ ।
कृषि एक्स्पोको प्रचारप्रसार गर्ने सिलसिलामा ईलाम पुग्नु भएका महासंघका अध्यक्ष राजेन्द्र राउतको नेतृत्वको टोलीले सो क्षेत्रका उद्योगी व्यवसायीलाई एक्स्पोमा सहभागी हुन आह्वान समेत गर्नु भएको छ ।
महासंघका अध्यक्ष राउतले विगतमा काठमाडौ र चितवनमा मात्र सीमित रहेको कृषि एक्स्पो पहिलोपटक कोशी प्रदेशमा हुन लागेको बताउनुभयो । कृषि एक्स्पोलाई संघीय सरकारको कृषि तथा सहकारी मन्त्रालय र उद्योग मन्त्रालय, कोशी प्रदेश सरकार र स्वीस सरकार विकास सहयोगको प्रवर्द्धन रहेको छ ।
यस्तै, एक्स्पोमा नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) र मोरङको कटहरी गाउँपालिकाको सहकार्य रहेको छ । उक्त एक्स्पोमा कृषिका नवीनतम प्रविधि, कृषि व्यवसायका उत्पादन, पशुपन्छीका दाना, “पर्यटकीय नगरी नगरपालि दयभेटनरीलगायतका वस्तुहरुको प्रदर्शनी हुनेछ साथै कृषि विज्ञबाट प्यानल डिस्कसन, बीटुबी छलफल हुनेछ भने एक्स्पोमा भारतको विहार राज्यबाट समेत कृषि विज्ञहरु आएर परामर्श दिने कार्यक्रम रहेको अध्यक्ष राउतले जानकारी दिनुभयो ।
यसैगरी उक्त एक्स्पोमा कृषकले उत्पादन गरेका वस्तुहरुको उद्योग स्थापना गर्न प्रेरित गर्ने, कृषक सम्वाद कार्यक्रम र उद्योगीबीच समन्वय गराउने कार्यक्रम रहेको अध्यक्ष राउतले बताउनुभयो । जिल्लाबाहिरबाट एक्स्पोको अवलोकन गर्न आउने कृषकका लागि निःशुल्क खाना तथा आवासको व्यवस्था गरिएको उहाले जानकारी दिनुभयो ।
सूर्योदय नगरपालिकामा भएको छलफल कार्यक्रममा सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले एक्स्पोलाई सफल बनाउन आफ्नो क्षेत्रबाट पूर्णरुपमा सहयोग रहने बताउनुभयो ।
उक्त एक्स्पोमा यस क्षेत्रका उत्पादनहरु प्रदर्शनीमा राखिने उहाको भनाइ थियो । एक्पोमा ताप्लेजुङ उद्योग वाणिज्य संघ, पाँचथर उद्योग वाणिज्य संघ, इलाम उद्योग वाणिज्य संघ, सूर्योदय नगर उद्योग वाणिज्य संघ, झापा उद्योग संघ, मेची उद्योग वाणिज्य संघ, अलैची व्यवसायी महासंघले सहभागिता जनाउने भएका छन् ।