एभरेष्ट साइन्स सेन्टरले चन्द्रमाबाट ल्याएको ३ अर्ब ७५ करोड बर्ष पुरानो चट्टान प्रदर्शन गर्ने

कुमोद अधिकारी विराटनगर
माघ २८ आइतवार
एभरेष्ट साईन्स सेन्टरले “शान्तिवन देखि चन्द्रमा सम्म – २” मा चन्द्रमाबाट ल्याएको ३ अर्ब ७५ करोड बर्ष पुरानो चट्टान प्रदर्शन गर्ने भएको छ ।
एभरेष्ट साइन्स सेन्टरले सुनसरीको बर्जु गाउँपालिका–५ स्थित सितागञ्जमा रहेको शान्ति वनमा चन्द्रमाको धरातलमा भएको ३ अर्ब ७५ करोड वर्ष पुरानो १२० ग्रामको चट्टानको टुक्रा प्रदर्शन गर्न लागेको हो ।
आजको युग विज्ञान तथा प्रविधिको युग भएकोले कुनै पनि देशको विकास गर्नका लागि विज्ञान तथा प्रविधिको विकास हुनु प्रमुख शर्त हो । त्यसैले नेपालमा पनि विज्ञान तथा प्रविधिको विकास गर्नका लागि केही मात्रामा भएपनि आफ्नो तर्फबाट योगदान पुर्याउन नेपाली प्रथमविज्ञान केन्द्रका रुपमा सुनसरी जिल्ला, वर्जु गाउँपालिका ५, सीतागञ्ज स्थित शान्तिवनमा एभरेष्ट साईन्स सेन्टर नेपाल सन् २००२ मा अर्थात् आर्थिक वर्ष २०५८÷०५९ मा सुरुवात भएको हो ।
उत्त विज्ञान केन्द्रले स्थापना काल देखि हाल सम्म विभिन्न किसिमका विज्ञान प्रदर्शनी, तालिम,, सेमिनार, कार्यशाला गोष्ठी तथा विज्ञान मेलाहरुको आयोजना गर्दै आएको छ ।


सेन्टरले अमेरिकी अन्तरीक्ष संस्था संग सम्झौता गरी यसै केन्द्रको भवनमा “शान्तिवन देखि चन्द्रमा सम्म” अन्तरिक्ष वाट ल्याइएको चटटान दुई महिनासम्म प्रदर्शन गरेको एभरेष्ट साईन्स सेन्टरका अध्यक्ष डा. दिलिप अधिकारीले जानकारी दिनुभयो ।
एभरेष्ट साईन्स सेन्टरले आउदो नयाँ बर्षको अवसर पारेर चन्द्रमाबाट ल्याईएको ढुंगा प्रर्दशनको तयारी गरेको हो । अमेरिकी अन्तरीक्ष संस्था नाशाका वैज्ञानिकहरुले पृथ्वीबाट ३ लाख ८४ हजार किलोमिटर टाढा रहेको चन्द्रमाबाट ल्याएका ढुंगा साईन्स सेन्टरमा प्रर्दशन गर्ने तयारी गरिएको डा अधिकारीले वताउनुभयो ।
सेन्टरले पत्रकार सम्मेलनको आयोजनागरि सो बिषयमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्नुहुँदै एभरेष्ट साईन्स सेन्टरका संचालक वैज्ञानिक अधिकारीले चन्द्रमाको ढुंगा ल्याउने बिषयमा अमेरिकी अन्तरीक्ष संस्था नाशासंग सहमति भएर अनुमति समेत प्राप्त भईसकेको बताउनुभयो । उहाँले ‘शान्तिवन देखि चन्द्रमा सम्म–२’ शिर्षकमा आउदो नयाँ बर्ष २०८१ बैशाख ३ गतेदेखी साढे ६ महिनासम्म चन्द्रमाको ढुंगा प्रर्दशनमा राखिने जानकारी दिनुभयो ।


अमेरीकी अन्तरीक्ष यान एपोलो १७ बाट चन्द्रमामा पुगेका अन्तरिक्षयात्री हैरिसन एच जैक स्मिटले २०२९ साल मंसिर २६ गते ल्याएका चट्टानको टुक्रा प्रर्दशन गर्न लागिएको हो । सो समयमा अपोलो १७ यानबाट ८ किलो १ सय १० ग्रामको चन्द्रमाको चट्टान ल्याईएकोमा त्यसैबाट टुक्र्याईएको १ सय २० ग्राम तौल रहेको टुक्रा एभरेष्ट साईन्स सेन्टरमा प्रर्दशन गरिने भएको छ ।
नाशाका बैज्ञानिकहरुले उक्त चट्टानको नाम मेयर बासल्ट नामाकरण गरेका छन । उक्त चट्टान ३ अर्ब ७५ करोड बर्ष पुरानो रहेको जनाईएको छ । नाशाले उक्त चट्टानलाई पृथ्वीको वातावरण र मौसमले कुनैपनि प्रतिकुल असर नपार्नेगरि पारदर्शी सुरक्षा कवचभित्र राखेको जनाईएको छ ।
चट्टान प्रदर्शन गर्ने क्रममा नाशाका वैज्ञानिकहरुले समेत नेपालको साताव्यापी भ्रमणगर्ने जनाईएको छ । उनिहरुले काठमाण्डौ,लुम्बिनी,नेपालगंज र धनगढीमा पुगेर विज्ञानका विद्यार्थीहरु माझ अन्तरिक्ष र चन्द्रमा सम्बन्धि प्रस्तुतीकरण दिने कार्यक्रम तय गरिएको छ ।
यसअघि २०७० सालमा समेत साईसन्स सेन्टरले दुई महिनासम्म सोहि ढुंगा प्रदर्शन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *