कुमोद अधिकारी १६ माघ, २०८०
विराटनगर । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले सहिदहरूको अवमूल्यन हुने काम कहिकतैवाट हुन नहुने बताउनु भएको छ ।
समुदायमा काँग्रेस अभियानको विराटनगरमा आज शुभारम्भ गर्नुहुँदै प्रधान मन्त्री पुष्पकमल दाहालले एउटा सार्वजनिक कार्यक्रममा तिन हजार सहिद थप गर्ने कुरा गर्नुभयो त्यसले प्रजातन्त्रका निम्ती बलिदानी दिएका सहिद प्रति अवमूल्यन भएको बताउनुभयो ।
सहिदको वास्तविक परिभाषालाई अङ्गीकार गर्दै अघि वढेमा सहिदहरुप्रति सच्चा श्रद्धाञ्जली हुने उहाँको भनाई थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले माघ १३ गते बारा जिल्लामा आयोजित एक कार्यक्रममा करिब ३ हजारलाई छिट्टै सहिद घोषणा गर्ने अभिव्यक्ति दिनु भएको थियो ।
त्यसैगरि, नेता कोइरालाले अर्थतन्त्र सङ्कटमा पुगेको अवस्थामा कोशी प्रदेश सरकारले अध्यादेश मार्फत सरकारका पदाधिकारीलाई गाडी सुविधा दिने निर्णय कांग्रेसका लागि मान्य नहुने बताउनुभयो ।

मुलुकको अर्थतन्त्र चरम सङ्कटमा परेका कारण कतिपय उद्योगधन्दा कलकारखाना तथा संस्थाहरू बन्द हुने अवस्थामा पुगेको वेला सांसदहरूलाई सेवा सुविधा थप गर्ने कुराले नेपाली कांग्रेसका साथीहरूलाई पिडावोध गराएको उहाँको भनाई थियो ।
कोशी प्रदेश सरकारले सांसदहरूलाई दिने भनिएको सुविधाले यसले काँग्रेसलाई चोट पुर्याएको उहाँले बताउनुभयो । उहाँले मुलुकका आर्थिक, सामाजिक तथा राजनीति क्षेत्रमा अस्थिरता उत्पन्न भएकाले दलहरूलाई गंभिर हुन आग्रह गर्नुभयो ।
नेपाली कांग्रेसको बलियो पक्ष नेपाली जनता भएकाले जनताको माझमा गएर उनीहरूको दुख सुख बुझ्न उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । जनताले भोट दिएकै कारण आफूहरू यो ठाउँमा पुगेकाले जनताको पिरमार्का हटाउने जिम्मेवारीपनि हाम्रै हो उहाँले भन्नुभयो ।

सहभागीहरूको गुनासाहरू सुन्नुहुँदै नेता कोइरालालाले विराटनगरको सिंगिया खोलामा अस्थायी तटबन्धका लागि प्रदेश सरकारले बजेट छुटयाई सकेको बताउनुभयो । उहाँले विराटनगरवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन जाइकाले काम अघि बढाई सकेको बताउनुभयो ।