विराटनगर । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । विराटनगर स्थित कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार निर्वाचनका लागि मतपत्र , मतपेटिका लगायत निर्वाचन सम्बन्धी ५८ प्रकारका आवश्यक सामग्रीहरु आइसकेको छ ।
निर्वाचनको लागि करिब तयारी पुरा भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख यामप्रसाद सुवेदीले जानकारी दिनुभयो । राष्ट्रिय सदस्य निर्वाचनका लागि निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलसँगको अन्तरक्रिया, उम्मेदवारी दर्ता पछि उम्मेदवारका प्रतिनिधि र राजनीतिक दलसँग निर्वाचन आचारसंहिताबारे कार्यक्रम गरिएको प्रमुख सुवेदीले बताउनुभयो । माघ २ गतेदेखि निर्वाचन आचारसंहिता शुरु भएको छ ।
माघ ११ गते हुने निर्वाचनका लागि प्रदेश निर्वाचन कार्यालय मतदान स्थलमा दुईवटा मतदान केन्द्र निर्धारण गरिएको कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिका लागि अलग–अलग मतदान केन्द्र निर्धारण गरिएको छ ।
कोशी प्रदेशमा २ पदका लागि निर्वाचन हुँदैछ । एक महिला र एक अन्य पदका लागि ५ जनाको उम्मेदवारी परेको छ । महिलामा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी चम्पा कार्की र एमालेबाट रुक्मिणी कोइराला, अन्यमा सत्ता गठबन्धनबाट कांग्रेसका कृष्णप्रसाद सिटौला, एमालेबाट पर्शुराम अधिकारी र राप्रपाबाट उद्धव पौडेलको उम्मेदवारी परेको छ ।
निर्वाचनमा प्रदेशसभाका ९३ र स्थानीय तहका प्रमुख–उपप्रमुख २७४ गरि ३६७ जना मतदाता छन् । प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतदभार १९ रहेको छ ।
आगामी फागुन २० गतेदेखि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने एक सहित २० जनाको कार्यकाल सकिँदै छ ।