विराटनगर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा शेखर कोइरालाले सङ्घीयतालाई अधिकार सम्पन्न बनाउनु आवश्यक रहेको बताउनुभएको छ ।
मोरङको वुढीगंगा गाउँपालिका–२ स्थित लिलाभक्त राम आधारभूत विद्यालयको वार्षिक उत्सव समारोहलाई आज सम्बोधन गर्नुहुँदै उहाँले सङ्घीय सरकारले प्रदेश तथा स्थानीय सरकारलाई संविधान अनुरुप अधिकार नदिँदा सङ्घीयता कार्यान्वयनमा समस्या भएको बताउनुभयो ।
नेता कोइरालाले आफु सङ्घीयताको पक्षमा रहेकाले सबै जाति, समुदायको अधिकारका लागि अधिकार सम्पन्न सङ्घीयता आवश्यक रहेको बताउनुभयो ।

विश्वका कुनै पनि देशमा एउटै व्यक्ति बैंकर्स र उद्योगी नहुने प्रचलन रहे पनि नेपालमा उद्योगीहरूले नै बैङ्क सञ्चालन गर्ने गरेकाले पाँच प्रतिशत ब्याजको कृषि ऋण किसानले भन्दा पनि उद्योगीहरूले पाउने गरेकाले त्यसतर्फ सोच्नु आवश्यक रहेको उहाँको भनाई थियो ।
पालिकाका अध्यक्ष जितनारायण थापा मगरले ८४ प्रतिशत दलित तथा विपन्न समुदायका विद्यार्थी अध्ययनरत विद्यालयलाई आफु र आफ्नो पालिकाले विभिन्न प्रकारको सहयोग गरेका कारण विद्यालयप्रति विद्यार्थीको आकर्षण बढेको बताउनुभयो ।