महानगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

पुस ८ विराटनगर
विराटनगर महानगरपालिकाको आयोजनामा आगामी माघ ३ गतेदेखि १६ औंं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।
आइतबार महानगरका मेयर नागेश कोइरालाको अध्यक्षतामा बसेको बैठकले माघ ३ देखि ५ गतेसम्म विराटनगरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।
विद्यालयस्तरदेखि नै खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको मेयर कोइरालाले बताउनुभयो । प्रतियोगिताले विद्यालय–विद्यालय र विद्यार्थी–विद्यार्थीबीच प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्दै भाइचाराको भावना जागृत गराउन महत्वपूर्ण भूमिका खेल्ने मेयर कोइरालाको भनाइ थियो ।
प्रतियोगिताको उद्घाटन विराटनगर–११ स्थित जनपथ माविमा हुनेछ भने अन्य विभिन्न विद्यालयका खेलमैदानमा प्रतियोगिता गरिने प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिनुभयो ।
उपमेयर शिल्पा निराला कार्की, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, मोरङका प्रहरी प्रमुख एसपी दीपक पोखरेल, प्याब्सनका उपाध्यक्ष अर्जुन श्रेष्ठ, सचिव अशोक लामा, शिक्षक महासंघका प्रतिनिधिलगायतको उपस्थितिमा भएको बैठकले तयारी समितिसमेत गठन गरेको छ ।
प्रतियोगितामा सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुको सहभागिता रहनेछ । गत वर्षको प्रतियोगितामा ३० विद्यालयका ९ सयभन्दा बढी विद्यार्थीले सहभागिता जनाएका थिए । अघिल्लो वर्षभन्दा यस वर्ष विद्यालय र विद्यार्थीको सहभागिता बढी हुने अनुमान गरिएको शिक्षा शाखाकी अधिकृत तारा शर्माले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *