कुमोद अधिकारी८ पुस, २०८०
विराटनगर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा शेखर कोइरालाले पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई राजनीतिक नैतिकता र संस्कारको प्रतिमूर्तिको रुपमा आफूले लिएको बताउनु भएको छ ।
स्वर्गीय कृष्णप्रसाद भट्टराईको ९९ जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस मोरङले विराटनगरमा आज आयोजना गरेको विचार गोष्ठीमा नेता कोइरालाले अहिले मुलुकमा कृष्णप्रसाद भट्टराई जस्तो सादगी इमान्दार र निष्ठावान् नेता आवश्यक रहेको बताउनुभयो । उहाँले अहिलेको सङ्कटबाट पार लगाउन मुलुकले असल अभिभावक खोजिरहेको बताउनुभयो ।
नेता कोइराला भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्दै राजनीति स्थायित्व र सुशासनका निम्ति सरकार प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । भ्रष्टाचारका कारण आम नेपाली जनतामा नैरश्यता छाएकाले जनताको त्यो नैरश्यता हटाउन सरकारले प्रभावकारी रुपमा काम गर्न सक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
किसुनजीले मुलुकको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि एक वर्षमा उहाँको नेतृत्वमा नयाँ संविधान वनेको चर्चा गर्नुहुँदै उहाँबाट धेरै कुरा हामीले सिक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य अमृत अर्याल, नेपाली कांग्रेस कोशी प्रदेश सभापति रमेशजङ रायमाझी, नेता गोपाल राजभण्डारी, वसन्त भट्टराई, नेपाली कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझी तथा सचिव मोदराज घिमिरे लगायतले प्रजातन्त्र स्थापनका लागि कृष्णप्रसाद भट्टराईले गर्नु भएको योगदानका विषयमा चर्चा गर्नु भएको थियो ।