पुस, ७ विराटनगर
राष्ट्रपति रामचन्द्र पौडेलले स्वाधीन, समुन्नत एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनुभएको छ ।
नेपाल उद्योग परिसङ्घ कोसी प्रदेशले विराटनगरमा आज आयोजना गरेको उद्योगीहरूको भेला तथा प्रजातन्त्र सेनानी सम्मान समारोहको उद्घाटन गर्नुहुँदै राष्ट्रपति पौडेलले समाजवाद उन्मुख अर्थव्यवस्थाको आधार निर्माण गर्न उद्योगी व्यवसायीको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो ।
कोभिड–१९ महामारीबाट शिथिल भएको अर्थतन्त्रलाई उन्नत बनाउन सरकारले गरेका प्रयासले केही सकारात्मक प्रभाव पारेको बताउँदै राष्ट्रपति पौडेलले भन्नुभयो, “अपेक्षाअनुसार देशको अर्थतन्त्र सबल भएको छैन, रोजगारी सृजनालगायत आन्तरिक उत्पादन बढ्न सकेको छैन भने राजस्वका लक्ष्यप्राप्त गर्न कठिनाइ भएको छ । उद्योगधन्दा पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । उद्योग कलकारखाना सञ्चालनमा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ ।”
अर्थतन्त्र सुधारका लागि सरकारले तर्जुमा गरेको रणनीति, निजी क्षेत्रको सहयोग, विदेशी मुद्रा सञ्चिति, विप्रेषण वृद्धि दरका साथै शोधानन्तर बचत सकारात्मक भए पनि सन्तुष्ट हुने स्थान नरहेको बताउँदै उहाँले अर्थतन्त्रको सुधारका निम्ति सरकार निरन्तर लागेको आफूले पाएको उल्लेख गर्नुभयो ।
नेपालमा कृषि क्षेत्रको रूपान्तरण र उद्योग व्यवसायको विस्तार गरी उत्पादन वृद्धि, रोजगारी सृजना गर्न, निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापन गर्न, अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन तथा गरिबी निवारण गरी आर्थिक विकासको बाटोमा सरकारको एक्लो प्रयास पर्याप्त नहुने भएकाले निजी क्षेत्रसँगको साझेदारी अपरिहार्य हुने राष्ट्रपतिले सुझाउनुभयो ।
“कूल लगानीमा दुई तिहाइभन्दा बढी लगानी भएको निजी क्षेत्रलाई विश्वासमा लिएर नीतिगत आधार निर्माण गर्न मौजुदा नीति र कानुनहरूको समीक्षा गरी नयाँ नीति र ऐन निर्माण गर्ने, निजी क्षेत्र मैत्री ऐन, कानुन परिमार्जन गर्ने काम वर्तमान सरकारबाट हुन जरुरी छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
उहाँले नेपालको पहिलो औद्योगिक नगर कोसी प्रदेशको राजधानी विराटनगर स्वतन्त्रताका लागि जीवन उत्सर्ग गर्ने कृष्णप्रसाद कोइराला, बिपी कोइराला, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, सिके प्रसाई, शैलजा आचार्य, केशव कोइराला, तारणीप्रसाद कोइराला, नोना कोइराला, नारदमुनी थुलुङ, क्याप्टेन यज्ञबहादुर थापा, बलबहादुर राई, भरत मोहन अधिकारी, भूविक्रम नेम्वाङ, प्रेमराज आङदम्बे, चिरञ्जीवी रिजाल, रामप्रसाद राई, धनवर्ण राई, लिला–ठगी–गोकर्ण, राम–लक्ष्मण र नेपालमा औद्योगिक अभियानको सुरुवात गर्ने रामलाल गोल्छा, चन्दनमल दुगडलगायत सबैको योगदानको मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।
राष्ट्रपतिले संविधान प्रदत्त भूमिका निष्ठापूर्वक पालना गर्ने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा कुनै आँच आउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कोसी प्रदेशका प्रमुख परशुराम खापुङले देश विकासमा निजी क्षेत्रको अहम् भूमिका हुने भएकाले राज्यले उनीहरूको सहयोगको अपेक्षा गरेको बताउनुभयो । साथै उहाँले उद्योगी र व्यवसायीको समस्या समाधानमा राज्यले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकारको सहयोगी अङ्गको रूपमा रहेका उद्योगी–व्यापारीले रोजगारी सृजनामा सघाएकामा आभार व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदार तथा कोशी प्रदेसका पुर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले, लोकतन्त्र र गणतन्त्रका लागि लामो सङ्घर्ष गर्नु भएका वर्तमान राष्ट्रपतिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बचाई राख्न अभिभावको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।