महानगरद्वारा डेंगु नियन्त्रण र रोकथामका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु

कुमोद अधिकारी साउन १९ शुक्रवार
विराटनगर ÷ विराटनगर महानगरपालिकाले डेंगु रोकथाम र नियन्त्रणको अभियान सुरु गरेको छ ।
आजदेखि महानगरले डेंगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरु गरेको हो । कार्यबाहक मेयर शिल्पा निराला कार्कीको उपस्थितिमा वडा नम्बर १ बाट अभियान सुरु गरिएको महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिनुभयो ।
१९ वटै वडाबाट बिहान ७ देखि ९ बजेसम्म खोज्ने र नष्ट गर्ने अभियान एकै साथ सञ्चालन गर्ने तयारी भए पनि प्रतिकूल मौसमका कारण केही वडामा मात्रै अभियान सञ्चालन गरिएको अलीले बताउनुभयो । प्रतिकूल मौसमका बाबजुत पनि जिल्ला प्रहरी कार्यालय आसपासको क्षेत्रमा डेंगुको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिएको थियो ।
टायर, ड्रम, गमला, फ्रिज, कुलरसहित लामो समयदेखि जमेको पानीमा डेंगु सार्ने लामखुट्टे बस्ने गर्दछ । डेंगु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय घरभित्र र वरिपरि पानी जम्न नदिनु नै रहेको कार्यबाहक मेयर कार्कीले बताउनुभयो ।
उहाँले मौसम अनुकूल हुने बित्तिकै हप्तामा दुई दिन सबै वडामा सरोकारवालाहरुको उपस्थितिमा अभियान सञ्चालन गरिने जानकारी दिनुभयो । कार्कीले महानगर मातहतका कार्यालयहरुमा हरेक दिन बिहान १० देखि साढे १० बजेसम्म ‘खोज र नष्ट गर’ अभियानसमेत सञ्चालन गरिने उल्लेख गर्नुभयो ।
कार्यक्रममा वडा नम्बर १ का अध्यक्षसमेत रहनुभएका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले अभियानअन्तर्गत घरघरमा पुगेर सचेतनासमेत जागृत गराउने उद्देश्य रहेको सुनाउनुभयो । खोज र नष्ट गर अभियानमा स्वास्थ्य महाशाखा प्रमुख हैदर अली, वातावरण तथा सरसफाई शाखा प्रमुख पुनम दाहाल, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डिएसपी छेदीलाल कामतसहित कर्मचारी, स्वास्थ्य स्वयमसेविका, प्रहरीलगायतको सहभागिता रहेको थियो ।
धरानलगायतका विभिन्न स्थानमा डेंगु रोगको संक्रमण फैलिएपछि महानगरले डेंगुको संक्रमण रोकथाम र नियन्त्रणको अभियानलाई तीव्रता दिएको छ । यसअघि महानगरले मेयर नागेश कोइरालाको उपस्थितिमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सफाई शाखाका कर्मचारीसहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई राखेर अभिमुखीकरण कार्यक्रम सञ्चालनसमेत गरेको थियो । महानगरमा अहिलेसम्म १२ जना डेंगुका विरामी फेला परेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *