विराटनगर, कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार शपथ लिएका छन् । बुधबारै उनले गठबन्धन दल कांग्रेस, माओवादी र एकीकृत समाजवादीबाट १/१ जना मन्त्रीसहित ४ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् । माओवादीका बाबुराम गौतम आर्थिक मामिला तथा योजनामन्त्री, कांग्रेसका प्रदीपकुमार सुनुवार खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री र एकीकृत समाजवादीका कमलप्रसाद जबेगु भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त भएका छन् । यसअघि सभामुख रहेका गौतमको हस्ताक्षरले असार २१ गते मुख्यमन्त्रीमा भएको नियुक्ति सर्वोच्च अदालतले बदर गरिदिएपछि उनले मंगलबार सभामुखबाट राजीनामा दिएका थिए । त्यसपछि बहुमत सिद्ध गरी थापा दोस्रो पटक मुख्यमन्त्री बनेका हुन् । उनीहरूलाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ गराए । जनता समाजवादी पार्टीले भने पहिचान पक्षधरले अघि सारेको प्रदेशको पुनः नामकरण मुद्दा सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने जनाएको छ । थापा नेतृत्वको सरकारलाई समर्थन दिए पनि जसपा सरकारबाहिरै छ ।

सभामुखबाट राजीनामा दिएर मन्त्री बन्ने इच्छा गरेपछि माओवादीले गौतमको नाम सिफारिस गरेको मुख्यमन्त्री थापाले बताए । अघिल्लो मन्त्रिपरिषद्मा बिनाविभागीय मन्त्री भएका सुनुवारलाई पनि काम गर्ने अवसर प्रदान गर्ने नैतिक दबाबले दलको बैठकले सिफारिस गरेकाले एउटै जिल्लाका दुवै जना मन्त्री बन्ने संयोग जुरेको उनको भनाइ छ । मुख्यमन्त्रीमा शपथ लिएपछि थापाले अब संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रतिक्रिया दिए । सरकारको पहिलो प्राथमिकता लामो समयदेखि अवरुद्ध प्रदेशसभा बैठक सञ्चालन गर्ने उनले बताए । ‘प्रदेशसभा लामो समयदेखि स्थगित भएकाले कार्यक्रम, योजना, बजेटहरू रोकिएकाले सदन सञ्चालन पहिलो प्राथमिकतामा छ,’ उनले भने, ‘अध्यादेशबाट आएको बजेट प्रतिस्थापन विधेयक ल्याएर पारित गराउँछौं ।’ आवश्यकताअनुसार मन्त्रालय थपघट हुने पनि मुख्यमन्त्री थापाले बताए ।