समयमै काम नगर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउने पूर्वाधार मन्त्रालयको तयारी

विराटनगर, २२ फागुन

कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्काको समयावधि थप नगर्ने चेतावनी दिएको छ ।
पटक–पटक म्याद थप गरेर काम गर्ने अवसर दिँदा पनि विभिन्न बाहना गरेर तीन आर्थिक वर्षमा ३० प्रतिशतसम्म पनि काम नगर्ने ठेकेदारलाई तत्काल कामको प्रगति बढाउन चेतावनी दिएको हो ।
काम ढिला गर्ने २५ भन्दा बढी निर्माण कम्पनीका प्रतिनिधिलाई मन्त्रालयमा बोलाएर मन्त्री दुर्गा प्रसाद चापागाईंले पूँजीगत खर्च बढाउन र रोकिएका काम सम्पन्न गर्न भइरहेको कठिनाईको विषयमा जानकारी लिएका हुन् । सो क्रममा उनले मन्त्रालयको तर्फबाट गर्नुपर्ने काम तत्कालै गरिने तर निर्माण कम्पनीले पनि सोही अनुसारको काममा तीब्रता बढाउनु पर्ने बताए ।
‘मन्त्रालयले तीन पटकसम्म म्याद थपेका निर्माण कम्पनीको पुनः म्याद थप्ने गरी मैले क्याबिनेटमा लान्न,’ चापागाईंले निर्माण कम्पनीका प्रतिनिधिलाई सम्बोधन गर्दै भने, ‘काम गर्ने जिम्मा तपाईहरुको हो । निर्माण कम्पनीको समस्या हामीले पनि बुझेका छौं । तर, सम्झौता अनुसार काम गर्ने त फेरि पनि तपाईहरुकै हो । मन्त्री भएर क्याबिनेटमा ठेकेदारको निर्माण अवधि बढाउन भन्दै फाइल बोकेर म जान्न ।’
मन्त्रालयका सचिव मोहनराज चापागाईंले पनि विभिन्न बाहनामा काम रोक्न नहुनेमा जोड दिए । ‘कन्ट्रयाक डकुमेन्टमा साइट हेरेर मात्रै ठेक्का हाल्नु भनेर बकाइदा भनेको छ । तर, भौगोलिक कठिनता लगायत अन्य कतिपय विषय ल्याएर काम रोक्न पाइँदैन । साइट क्लियरेन्स र बिल पेमेन्टको कुरा हामीले सहयोग गर्छौं,’ चापागाईंले भने, ‘मैले अघिल्लो आर्थिक वार्षमा १ सय भन्दा बढी आयोजनाको समयावधि थप गरे । अहिले भने केही फायल रोकिएको छ । म्याद थप्नुपर्ने कारण के हो ? जहिले पनि कोभिड ? पानी पर्यो भनेको छ । यो त जहिल्यै आउने कुरा हो नि ।’


सचिव चापागाईंले सार्वजनिक खरिद ऐनको ११ औं र १२ औं संशोधनले म्याद थपलाई सहयोग गरेको भएपनि अब म्याद थप्न समस्या हुने बताए । ‘हामी २०७९ सालको अन्तिममा छौं । अब दुईवटै संशोधनले छुँदैन । क्याबिनेटमा लगेर म्याद थप गर्ने कुरा राम्रो होइन । कतिपय ठेक्का कम्पनीले ५ औं पटकसम्म म्याद थप गरिएको छ । एक पटक दुई पटक पो हुन्छ त हौं साथी हो, कति पटक म्याद थप गर्ने ?,’ उनले थपे, ‘अब पेनाल्टी पनि लाग्छ । म्याद थपको विषयलाई लिएर हाम्रो द्वन्द्व हुने अवस्था छ । दुईवटा म्याद थप गरिसकेपछि तेस्रोमा जानसक्ने अवस्था छैन । कानूनको विषयलाई हेरेरै तपाईहरुले ठेक्का लिनु भएको हो ।’
उनले निर्माण व्यवसायीको समस्याको विषयमा आफू जानकार रहेको र समाधानका लागि लागिपर्ने पनि बताए । ‘समयमै पेमेन्ट भएन भने तपाईहरुले काम गर्न सक्नुहुन्न । हामीलाई थाहा छ । युक्रेन युद्ध र कोभिडको समस्या पनि थाहा छ । तर, ठेक्का लिइसकेपछि काम गर्नुपर्ने तपाईहरुको बाध्यता हो । अफिसले सक्ने सहयोग गर्छ । पेमेन्टको समस्या समाधानको लागि हामी काम गरिरहेका छौं,’ सचिव चापागाईंले भने, ‘कसैले काम गरेर पनि पैसा नपाउने अवस्था देखिएको छ । कसैले आयोजनामा पर्याप्त पैसा भएर पनि काम नहुने अवस्था छ । त्यसो चाहिं हुनु भएन ।’
उनले तीन वर्षसम्म पनि ३० प्रतिशत भन्दा कम प्रगति गर्ने निर्माण कम्पनीको विषयमा फरक तरिकाले मन्त्रालयले सोच्ने पनि बताए । ‘हामीले ३ वर्षसम्म पनि ३० प्रतिशत भन्दा कम प्रगति हुनेको बारेमा केही न केही निर्णय गरेर जानुपर्ने सोचेका छौं,’ चापागाईंले भने, ‘हाम्रो डिसिजन भनेको बैंकलाई पत्र लेख्ने र कारबाही गर्ने नै हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *