विकासमा दक्षिणीलाई प्राथमिकता दिँदै महानगर
५ करोडभन्दा बढीको लागतमा निर्माण हुने ग्रिनपार्कको मेयर कोइरालाद्वारा शिलान्यास

फागुन ३ वुधवार
विराटनगर÷ विराटनगर महानगरपालिकाले दक्षिण क्षेत्रलाई प्राथमिकतामा राखेर ठूला परियोजना अगाडि बढाएको छ । तुलनात्मक रुपमा उत्तरभन्दा दक्षिणी क्षेत्र विकासमा पछाडि परेकाले महानगरले उच्च प्राथमिकतामा राखेर विकासका योजनाहरू सञ्चालन गरिरहेको महानगरका मेयर नागेश कोइरालाले जानकारी दिनुभयो ।
यसै सन्दर्भमा विराटनगर–१४ मा ५ करोडभन्दा बढीको लागतमा निर्माण हुने रानीपोखरी ग्रिनपार्कको एक समारोहका बीच बुधबार मेयर कोइरालाले शिलान्यास गर्नुभयो । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने योजनाका साथ ग्रिनपार्कको निर्माण सुरु गरिएको मेयर कोइरालाले बताउनुभयो ।
विराटनगरलाई सफा, सुन्दर, हरियाली, व्यवस्थित विकसित बनाउने अभियानमा लागेकाले सहयोग गर्न मेयर कोइरालाले आग्रह गर्दै मण्ठापोखरी, विराटराजाको दरबारको भौतिक संरचना निर्माणका लागि ठेक्का प्रक्रियामा गइसकेको वताउनुभयो । “विराटनगरलाई भावीपुस्ताले गर्व गर्न लायक बनाउने अभियानमा लागेका छौं,” मेयर कोइरालाले भन्नुभयो “तुलनात्मक रुपमा दक्षिणी क्षेत्र विकासमा पछि परेको छ । यो कुरा हामीले बुझेका छौं । हामी विकासका लागि दक्षिणी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेका छौं ।”
रानीपोखरी ग्रिनपार्क ५ करोड १७ लाख ६४ हजार ७ सय ८४ रुपैयाँको लागतमा निर्माण हुनेछ । साढे २ बिघा क्षेत्रफल निर्माण हुने ग्रिनपार्कमा कम्पाउण्ड वाल, आकर्षक प्रवेशद्वार, पानीको फोहोरा, आकर्षक बगैंचा, मन्दिर, रानी माताको मूर्ति, विश्रामस्थल, शौचालयलगायत हुनेछ ।
हाल सो ठाउँमा पोखरी रहेको छ । पोखरीलाई यथावत राखेर अन्य संरचना निर्माण गरिनेछ । सो पोखरीमा राजाविराटकी रानी आएर नुहाउने गरेको किवदन्ति छ । निर्माणका लागि कला विल्र्डस विराटनगरले ठेक्का पाएको छ । ८ करोड, ३६ लाख ७७ हजार १ सय ६१ रुपैयाँमा लागत अनुमान गरिए पनि कला विल्र्डसले करिब ३ करोडभन्दा कममा ठेक्का पाएको हो । महानगर र निर्माण कम्पनी कला विल्र्डसबीच गत माघ १८ गते सम्झौता भएको थियो । सम्झौताअनुसार २०८१ माघ २९ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । सम्भव भएसम्म तोकिएको समय अगाडि नै निर्माण सम्पन्न गर्ने योजना रहेको निर्माण कम्पनीका प्रमुख सञ्जयकुमार यादवले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *