
कुमोद अधिकारी
१६ असार
विराटनगर । कोशी प्रदेशलाई पूर्ण खोप सुनिश्चिताको भएको घोषणा गरिने भएको छ । आगामी असार ३० गते भित्रमा सुनिश्चिताको घोषणा गर्न लागिएको हो ।
राष्ट्रिय खोप कार्यक्रमको समीक्षा एवं प्रदेश पूर्णखोप खोप सुनिश्चितता घोषणाबारे खोप समन्वय समितिको आज विराटनगरमा बसेको बैठकले सो निर्णय गरेको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत भरत भण्डारीले १४ वटै जिल्लाले पूर्णखोप खोप सुनिश्चितता घोषणा गरिसकेकाले अव प्रदेश घोषणा बाँकी रहेको बताउनुभयो ।
गत चैत ३ देखि असार १६ गते सम्ममा कोशी प्रदेशका १४ वटै जिल्लाले पूर्ण खोप सुनिश्चिताको घोषणा गरिसकेका छन् ।
चालु आर्थिक २०८२–०८३ मा पाँचथर जिल्लाले प्रदेशमै पहिलो पटक पूर्ण खोप सुनिश्चिताको घोषणा गरेको थियो । असार १६ गते खोटाङले पूर्ण खोप सुनिश्चिताको घोषणा गरेको छ । कोशी प्रदेशका १३७ वटै स्थानीय तहका १ हजार १५७ वटा वडाले खोप सुनिश्चिताको घोषणा गरिसकेको खोप अधिकृत भण्डारीले बताउनुभयो ।

कोशी प्रदेशका सवै जिल्लाले पूर्णखोप सुनिश्चिताको घोषणा गरिसकेकाले अव प्रदेश घोषणाको तयारीमा रहेको हो । खोप कभरेज कम हुनु, प्राप्त लक्ष्य र प्रगतिमा तालमेल नहुनु मुख्य चुनौती रहेको खोप अधिकृत भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो,‘ सबै तहमा कभरेजमा एकरुपता छैन । खोप शुन्य र ड्रप आउट बच्चा भई रहनु , खोप बाट बचाउन सकिने रोगहरु देखा परिरहने गरेको छ ।’
नेपाल सरकारले क्षयरोग, रोटा, पोलियोमाइलाईटिस, न्यूमोनिया, मेनिन्जाईटीस, भ्यागुतेरोग, लहरेखोकी, हेपाटाईटीस बी, धनुष्टंकार, दादुरा, रुबेला, जापानिज इन्सेफलाइटिस र टाइफाइड) रोग बिरुद्दका खोपहरु दिने गरेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनु्सार चालु आर्थिक वर्षमा ०–१५ महिनाका ७९ हजार ८२७ र १६ देखि ५९ महिनाका २ लाख ८ हजार २०१ ले पूर्ण खोप लगाएका छन् ।