कुमोद अधिकारी
मङसिर २१
विराटनगर । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत विराटनगरस्थित आदर्श बालिका माध्यमिक विद्यालयमा ‘साइबर अपराध र लैंगिक हिंसा’ विषयक अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।
‘प्रविधिको सही प्रयोग गरौँ, लैंगिक हिंसा अन्त्य गरौँ’ भन्ने नारासहित नेपाल युवा संरक्षक मञ्चको आयोजनामा भएको कार्यक्रममा संस्थाकी अध्यक्ष निसा श्रेष्ठले बालबालिका लाई लैंगिक हिंसाबाट मुक्त गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमले डिजिटल माध्यममार्फत बढ्दो साइबर अपराध, अनलाइन दुव्र्यवहार, बालबालिकाको सुरक्षासँग सम्बन्धित जोखिम तथा समाधानका उपायबारे सहभागीहरूलाई व्यवहारिक जानकारी प्रदान गरेको उहाँले बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा प्रविधिको उपयोग कसरी गर्ने र प्रविधिलाई कसरी सदुपयोग गर्ने भन्ने विषयमा नेपाल घरेलु तथा साना महासंघ मोरङ महिला उद्यम समिती निवर्तमान अध्यक्ष सुनिता छाराहाङले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले डिजिटल माध्यमबाट हुने साईवर अपराधको विषयमा विद्यार्थी एवम उपस्थित लाई यसका सकारात्मक तथा नकारात्मक असरको बारेमा जानकारी दिनुभयो ।

आदर्श बालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश नेपालले, पछिल्ला वर्षहरूमा डिजिटल पहुँच बढेसँगै साइबर अपराधमार्फत लैंगिक हिंसाका घटनमा वृद्धि हुन थालेको भन्दै विद्यालयस्तरमै सचेतना अभियान अपरिहार्य भएको उल्लेख गर्नुभयो । वालवालिकालाई आजको डिजिटल युगमा प्रविधिको सहि सदुपयोग गर्नुपर्ने उहाँले जोड दिनुभयो ।
कार्यक्रमले विद्यार्थीलाई सुरक्षित इन्टरनेट प्रयोगका विधि सिकाउँदै लैंगिक हिंसा अन्त्यमा आफू–आफैँबाटै परिवर्तन सुरू गर्नुपर्छ भन्ने सन्देश दिएको आयोजकले जनाएको छ । कार्यक्रममा विद्यार्थी, शिक्षक तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।