विराट गोल्डकप शुरु ः खेलाडीहरु राष्ट्रको गहना भएकाले उनीहरुको विकासमा राज्यले ध्यान दिनु पर्छ ः डा.कोइराला

विराटनगरमा सोमवारबाट विराटगोल्डकप शुरुभएको छ । गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रिजालको मोरङ एफए विजयी भएको छ ।
विराटनगरको सहिद रंगशालामा भएको उद्घाटन खेलमा पाहुना टोली भारतको साउथन समिति कोलकातालाई ३–२ गोल अन्तरले पराजित गर्दै आयोजक विजयी भएको हो । आयोजक मोरङ एफएलाई अभिषेक गुरुङले १० मिनेटमा अग्रता दिलाएका थिए ।
साउथन समिति कोलकाताले १३ औं मिनेटमा बराबरी गोल फर्काएको थियो । कोलकाताका सुदीप्ता हाल्देनले फ्रिकिकमार्फत गोल गर्दै खेललाई बराबरी गरे । खेलको ३४ औं मिनेटमा कोलकाताका अनिमेषले हेडमार्फत गोल गर्दा खेल २–१ को अवस्थामा पुर्याए ।
पहिलो हाफको ४६ औं मिनेटमा पेनाल्टीलाई सदुपयोग गर्दै दोर्जे तामाङले खेल २–२ को अवस्थामा ल्याए । मध्यान्तरपछिको ८९ मिनेटमा मोरङका मौसम लिम्बूले गोल गर्दै आयोजकलाई विजयी गराए । जितसँगै आयोजक मोरङ प्रतियोगिताको क्वार्टर फाइलनमा प्रवेश गरेको छ । खेलको म्यान अफ दी म्याच मोरङका मौसम लिम्बू घोषित भए ।
प्रतियोगिताको उदघाटन कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोइरालाले खेलाडीहरु राष्ट्रको गहना भएकाले उनीहरुको विकासमा राज्यले ध्यान दिनु पर्ने बताउनु भएको छ ।


सोमवार सांझ देखि विराटनगरमा शुरु भएको विराट गोल्डकपको उद्घाटन गर्नुहुदै उहाँले खेलाडीहरुलाई प्रोत्साहनगर्न तीनै तहको सरकारको ध्यान जानु आवश्यक रहेको बताउनुभयो ।
नेता कोइरालाले विराट गोल्डकप आफैमा ऐंतिहासिक र यस्को आफनौ महत्व रहेकाले यसको संचालन प्रदेश तथा स्थानीय सरकारबाट हुनुपर्ने बताउनुभयो ।
विराटगोल्डकपका संयोजक नविन रिजालले गोल्डकप संचालनमा हरेकवर्ष आर्थिक समस्या हुने गरेकाले यसका लागि सरकारको ध्यान जानु आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा उधोगी महेश जाजुले विराट गोल्डकप संचालनका लागि निजि क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो ।
विराटनगरमा जारी विराट गोल्डकपमा मंगलवार सुदेवा दिल्ली फुटबल क्लब र सशस्त्र प्रहरी बल एपीएफबीच प्रतिस्पर्धा हुँदैछ ।
विराटनगरको सहिद रंगशालामा साँझ ६ः३० बजेबाट खेल सुरु हुने छ । पाहुना टोली भारतको सुदेवा र नेपालको विभागीय टोली एपीएफबीचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
प्रतियोगितामा गोल्डकपका विजेताले ११ लाख र उपविजेताले पाँच लाख नगद र सिल्ड प्राप्त गर्नेछन् । यसैगरी सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार रुपैयाँ, उत्कृष्ट प्रशिक्षक र गोलरक्षकले १५ हजार, सर्वाधिक गोलकर्ताले १५ हजार नगद पुरस्कार पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *