कुमोद अधिकारी
२३ फागुन,
विराटनगर। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउनुभएको छ।
विराटनगरमा आज ट्रक व्यवसायी सङ्घ विराटनगरको ३३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सरकार एक्लैले सबैथोक गर्न नसक्ने भएकाले सहकार्य गरेर अगाडि बढ्नका लागि निजीक्षेत्रलाई आग्रह गर्नुभयो ।
उहाँले कोशी प्रदेश सरकारले सहकार्यकै मोडललाई ध्यान दिँदै ट्रक व्यवसायीसँग विराटनगरको पार्किङलाई व्यवस्थित गर्न २ करोड रुपैयाँ छुट्याएर काम गरेको जानकारी दिनुभयो।
कोशी प्रदेश सरकारले आगामी वैशाख १८ र १९ गते लगानी सम्मेलन गर्ने तयारी गरेको जानकारी दिँदै मुख्यमन्त्री कार्कीले लगानी सम्मेलनले प्रदेशमा लगानीको वातावरण बन्ने र निजी क्षेत्रसँगको सहकार्य पनि वृद्धि हुने बताउनुभयो।
प्रदेश सरकार सुशासन कायम गर्दै विकास र समृद्धितर्फ अगाडि बढेको र असारे विकासलाई निरुत्साहन गर्न समेत लागिपरेको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले सुशासन मार्फत समृद्धि हासिल गर्ने बताउनुभयो। उत्पादकत्व वृद्धि गर्ने र रोजगारी सिर्जना गर्ने क्षेत्रमा साझेदारीका मार्फत काम गर्न प्रदेशले चाहिरहेको उल्लेख गर्नुभयो
कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले प्रदेश सरकार यातायात क्षेत्रको सुधारका लागि लागिपरेको उल्लेख गर्नुभयो।
कार्यक्रममा ट्रक व्यवसायीहरुले आफूहरुले भोग्नु परेको समस्या का बारेमा मुख्यमन्त्रीलाई अवगत गराएका थिए। कार्यक्रममा ढुवानी व्यवसायी शम्भुप्रसाद भट्टराईले ढुवानीका क्षेत्रको समस्या समेत सम्बोधन गर्नका लागि आग्रह गर्नुभयो ।व्यवसायी मेघराज सिग्देलका अनुसार अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ।