कोशी प्रदेशमा दुग्धजन्य पदार्थ एवं मासु उत्पादनमा उल्लेखनीय वृद्धि

कुमोद अधिकारी
१३ असार, २०८१
मोरङ । नेपाल लाइभस्टल सेक्टर इनाभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाइले अनुदान दिन थालेपछि कोशी प्रदेशमा दुग्धजन्य तथा खसी बोका पालन एवं मासु उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ ।
दुग्धजन्य तथा मासु उत्पादनमा वृद्धि गर्दै जलवायु अनुकूल उद्यमी व्यवसाय स्थापनाका लागि नेपाल सरकारले कृषि तथा पशुपंछी विकास मन्त्रालय अन्तर्गत २०७४÷०७५ मा कोशी प्रदेशको विराटनगरमा विकेन्द्रीकृत आयोजना सहयोग इकाई कार्यालय सञ्चालनमा ल्याएको हो ।
विराटनगरमा आज आयोजित विकेन्द्रित आयोजनाको अवधि समापन एवं हस्तान्तरण कार्यक्रममा पाँच वर्षको अवधिमा पशुपालन, दुग्धजन्य पदार्थको तथा मासुजन्य पदार्थ उत्पादन र बजारीकरण गर्ने विभिन्न संघ संस्थालाई आयोजनाले ३० करोडभन्दा बढी लगानी गरेको जनाइएको छ ।
आयोजनाले कोशी प्रदेशका सात जिल्लाका ७७ पालिकाका पशु सेवा प्रवाहका क्षेत्रमा क्षमता वृद्धि, आधुनिकीकरण, पशुपालनका उद्यम व्यवसाय कृषकलाई लक्षित गर्दै विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
आयोजनाले कृषक समूह तथा कृषि सहकारी संस्थालाई अधिकतम एक करोडसम्म पुरक अनुदान उपलब्ध गराएको विराटनगर इकाइका निर्देशक डा.सुधीर कुमार सिंहले जानकारी दिनुभयो ।


उक्त अनुदान प्राप्त गर्न ३० प्रतिशत बैङ्कको ऋण, २० प्रतिशत कृषकको लगानी र थप ५० प्रतिशत इकाईको पुरक अनुदान दिने व्यवस्था रहेको छ ।
इकाईसँग कोशी प्रदेशका १०५ साना मझौला उद्योगले सम्झौता गरी गाईपालन, बाख्रापालन र डेरी उद्योगहरू स्थापित भएर सफलतापूर्वक सञ्चालनमा रहेको निर्देशक .सिंहले बताउनुभयो ।
विश्व बैङ्कको रिर्पोट अनुसार आयोजना सञ्चालन भएका जिल्लामा दुग्धजन्य उत्पादनमा ४० प्रतिशत वृद्धि हुने लक्ष्य रहेकोमा ८० प्रतिशत यसैगरी भैँसीको दूध उत्पादन ८९ प्रतिशत, हाइब्रिड जातको पशुपालन व्यवसाय ८० प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै, आयोजनाका कारण मासुको उत्पादन २० प्रतिशत वृद्धि हुने लक्ष्य रहेकोमा ७० प्रतिशत वृद्धि भएको र बजारीकरण बिक्री लक्ष्य ३० प्रतिशत रहेकोमा १३९ प्रतिशत पुगेको र आयोजनाबाट दुई लाख ३५ हजार घरधुरी लाभान्वित भएको सो अवसरमा जानकारी गराइयो ।
इकाईले जिल्लाका पशु स्वास्थ्य कार्यालय पूर्वाधार निमार्ण, प्रयोगशाला निमार्ण तथा कार्यालयमा विभिन्न आधुनिक उपकरण उपलब्ध गराउनुका साथै सुरक्षित खोपका लागि कोल्ड रुमका निर्माण गरेको छ ।
इकाइको सहयोगमा कोशी प्रदेशमा ३० देखि ४० लिटर दूध दिने गाईका बाछी उत्पादन गर्ने सात वटा कृषि फर्म सञ्चालनमा रहेका छन् ।
कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आयोजनाले आयोजनाका कारण मासु तथा दुग्धजन्य पदार्थको वृद्धि भएकोमा खुशी व्यक्त गर्दै अब गुणस्तर एवं मूल्य समन्वय कायम गरी अन्तर्राष्ट्रिय क्षेत्रको निर्यातमा जोड दिनुभयो ।
यस्ता आयोजना निरन्तर सञ्चालन गर्न सके युवाहरूलाई स्वदेशमै रोजगारीको अवसरमा सृजना हुने उहाँको भनाई थियो ।
जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईले कृषिमा प्रविधिको प्रयोग गरी उत्पादन वृद्धि गर्न उत्पादित वस्तुहरू उचित मूल्यमा सरकारले खरिद गर्नुपर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो ।


कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहाल आयोजना संचालनमा आएपछि कोशी प्रदेसको आर्थीक विकासमा सहयोग पुगेको र अनुदानका कारण पशुसेवा क्षेत्रको सुदुढिकरण् तथा नया प्रविधिको विकासले दुधतथा दुग्धजन्य पर्दाथ र मासुको उत्तपादन वढेको वताउनुभयो ।
समग्र आयोजनाका निर्देशक बैंकुण्ठ अधिकारीले पशुपालनको विकास सुदुढिकरण र आधुनिकिकरणमा आयोजनाले प्रभावकारी रुपमा काम गरकाले कृषकको जिवनस्तरमा सुधार आएको दावी गर्नुभयो ।
अनुदान ग्राही मनोज बिष्ट र मन्जु बस्नेतले पशु क्षेत्रको सुदृढीकरण तथा आधुनिकरणमा आयोजनाले महत्पूर्ण भूमिका खेलेको बताउनुभयो ।
कार्यक्रममा आयोजना सञ्चालनमा निरन्तर सहयोग गर्ने उद्योग कृषि तथा सहकारी मन्त्रालय, आयोजनाका कर्मचारी तथा विभिन्न पालिकाहरूलाई आयोजनाको दस्ताबेज हस्तान्तरण गर्नुका साथै कदर पत्रद्वारा सम्मान गरिएको थियो ।
विकेन्द्रीकृत आयोजना सहयोग इकाई विराटनगरको पाँच वर्षको अवधि यही असार १५ गते सकिन लागेको सो अवसरमा जानकारी गराइयो । सो म्याद सकिएपछि सो कार्यालय काठमाडौँको केन्द्रिय कार्यालयमा जाने इकाई कार्यालयका निर्देशक .सिंहले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *