कुमोद अधिकारी, विराटनगर
कोशी प्रदेशका मुख्यमन्त्री केदारकार्कीले थारू संस्कृति नेपालकै गौरब भएकोले प्रदेश सरकारले यो समुदायको सस्कृतिको संरक्षण गर्ने बताउनुभएको छ ।
थारू कल्याणकारणी सभाले मंगलवार सुनसरीको वर्जु गाउँपालिकामा आयोजना गरेको चौथो बर्जु माघी महोत्सवमा मुख्यमन्त्री कार्कीले थारू संस्कृति अतिक्रमण भइरहेकोले संरक्षण गर्दै अन्तराष्ट्रियकरण गर्नु आवश्यक भएको बताउनुभयो ।
थारू संस्कृतिलाई गौरवपूर्ण बनाउँदै यसको अन्तराष्ट्रियकरण गर्नु आवश्यक रहेको बताउदै उहाँले थारू संस्कृति यो प्रदेशको ठूलो सम्पति भएको र यसलाई मास्न दिनु नहुने बताउनुभयो ।

थारू संस्कृति, समाजको कथा र व्यथा झल्किने भित्ता भएको घरलाई थारू होमस्टे बनाएर बाहिरबाट आएका पाहुनालार्ई मेजवानीमा राख्दै होमस्टेमा आउने पाहुनालाई थारू परिकार, नृत्य, गीत, कथा, कहानी, गौरवमय इतिहास सुनाउनुका साथै चित्रकला, थारूको ग्रामथान लगायतका संस्कृतिको अध्ययन तथा थारू संस्कृतिका साथै प्रदेश र देशको गौरव बढाउनुपर्नेमा उहाँले जोडदिनुभयो ।
प्रदेश सरकारले सम्पूर्ण थारू,राजबंशीलगायतका आदिवासी, जनजाति, अल्पसंख्यकको भाषा, संस्कृति संरक्षण, सम्बद्र्धन, अध्ययन, अनुसन्धान र विकासका लागि फाल्गुनन्द भाषासंस्कृति अध्ययन प्रतिष्ठान गठनका लागि बजेट विनियोजन गरेर काम अघि बढाएको मुख्यमन्त्री कार्कीको भनाई थियो ।
उहाँले महाभारतकालको पौराणिक ईतिहास बोकेको बर्जु पछिपरेकोले प्रदेश सरकारले विराटनगरसँग जोडेर सहरको रूपमा विकास गर्न केसलीयाको दुबै किनारमा सडक निर्माण कार्यलाई अघि बढाएको उल्लेख गर्नुभयो ।