कुमोद अधिकारी
पुस २३ सोमवार
विराटनगर ÷ विराटनगर महानगरपालिकाको आयोजनामा आइतबारदेखि सहकारी व्यवस्थापनसम्बन्धी तालिम सुरु भएको छ ।
तालिमको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । विराटनगर क्षेत्रमा सञ्चालित सहकारीका व्यवस्थापक सहभागी तालिममा बचत परिचालन, ऋण परिचालन, कोषको व्यवस्थापनलगायतका विषयमा जानकारी दिइनेछ ।
दुई चरणमा चार दिनसम्म सञ्चालन हुने तालिममा एक सयजनाको सहभागिता रहेको छ । कार्यक्रममा मेयर कोइरालाले सहकारीका नीति र सिद्धान्तविपरीत सञ्चालन हुँदा सहकारीहरुमा समस्या आएको बताउदै महानगरको टोलीले अनुगमन गर्दा धेरै सहकारीहरुको कार्यालय नभेटिएको वताउनुभयो ।
कृषि सरकारी, बहुद्देश्यीय सहकारी, उपभोक्ता सहकारी भनेर दर्ता गरे पनि सबैजसो सहकारीले बचत र ऋणकै काम गरिरहेको उहाको भनाइ थियो । “यसको मतलब सहकारीहरुले जुन उद्देश्यका लागि भनेर दर्ता भएका थिए त्यसअनुसार काम गरेका छैनन्,” कोइरालाले भन्नुभयो “सहकारी विभागले ऋण लगानीमा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था गरेको छ । तर महानगरले अनुगमन गर्दा धेरै सहकारीले २० प्रतिशतसम्म ऋण लगानीमा ब्याज लिएको पाइएको छ ।”
सहकारी गरिबी निवारणसँग सम्बन्धित हुनुपर्नेमा त्यसो नभएको भन्नुहुदै उहाले हुनेखानेले सहकारी खोलेर घरजग्गामा लगानी गर्ने अनि गरिबका पैसा डुब्ने गरेको वताउनुभयो । “हुने खानेले सहकारी खोले, घर–गाडी र जग्गा किने, सर्वसाधारणको पैसाको टुंगो छैन,” उहाले भन्नुभयो “पैसा हुनेहरुले पहुँच देखाउन खोलेका सहकारीले सामान्य नागरिकको पैसा डुबाएर बर्वाद पारेका गुनासाहरु दैनिक जस्तो महानगरपालिकामा आउने गरेका छन् ।”

मेयर कोइरालाले ज्येष्ठ नागरिक, सेवा निवृत कर्मचारी र सर्वसाधारणको पैसा सहकारीले डुबाएको आरोपसमेत लगाउनुभयो ।
उपमेयर शिल्ला निराला कार्कीले दक्षिणी क्षेत्रका धेरै नागरिकलाई नियतबस फसाएर सञ्चालकहरुले सम्पर्कविहीन भइरहेको बताउदै नियमनका क्रममा सहकारीको हिसाब प्रणाली व्यवस्थित नदेखिएको र ५० प्रतिशत सहकारीले मात्रै बहिखाता व्यवस्थित गरेको वताउनुभयो ।
उहाले हाल न्यायिक समितिमा समेत सहकारी पीडितको हप्तामा दुईवटासम्म उजुरी परिरहेको जानकारी दिनुभयो ।
महानगरको आर्थिक समितिका संयोजक एवं विराटनगर–१९ का वडाअध्यक्ष श्याम घिमिरेले भित्रभित्रै गैरकानुनी ढंगबाट सहकारीमा सर्वसाधारणले बचत गरेको पैसा लगानी गरेर संस्थापक सदस्यहरुले बेइमानी गर्ने गरेको बताउनुभयो । उहाले गत वर्ष लेखा प्रणालीका विषयमा तालिम दिइएको र यो वर्ष व्यवस्थापनसँग सम्बन्धित तालिम दिइएकाले अब कुनै पनि त्रुटि हुन नहुने दाबी गर्नुभयो ।